सोसल मिडिया
Contact Us
युनिकोड
दक्षिणकाली (काठमाडौं) । ललितपुर महानगरपालिका स्थानीय राजश्व परामर्श समितिले आफ्ना राजश्व हेर्ने कर्मचारीहरूलाई क्षमता विकास तथा पुनर्ताजकीकरण कार्यक्रम सम्पन्न गरेको छ । महानगरको स्थानीय राजश्व परामर्श समितिका संयोजक एवम् महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय राजश्व परामर्श समितिका सदस्य लपुमनपा वडा नं. २४ का वडाअध्यक्ष दिनेश जङ्ग पाण्डे, सदस्य बबिता श्रेष्ठ, राजश्व महाशाखा प्रमुख सहजित राईले प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा राजश्व महाशाखाका कर्मचारी, वडासचिव, सामाजिक परिचालक, वडामा राजश्व हेर्ने कर्मचारीहरूलाई क्षमता विकास तथा पुनर्ताजकीकरण कार्यक्रम गरिएको हो । दुई दिनसम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन राजश्व विज्ञ दामोदर गिरीले राजश्वका विविध पक्षमा प्रस्तुतिकरण दिनुभएको थियो । पहिलो दिनको कार्यक्रमको अध्यक्षता गर्नु भएकी स्थानीय राजश्व परामर्श समितिका सदस्य बबिता श्रेष्ठले महानगरले लिएको राजश्वको लक्ष्य हासिल गर्न अपनाउनु पर्ने रणनीतिबारे प्रकाश पार्नु भएको थियो ।
दोस्रो दिन राजश्व प्रशासन महाशाखाका निर्देेशक सहजित राईले महानगरको राजश्व प्रशासन महाशाखाबाट भएका कार्यहरूको विविध पक्षबारे प्रस्तुतिकरण दिनु भएको थियो । उहाँले हालै महाशाखाले करदाताहरूलाई एसएमएसबाट कर तिर्न गरिएको आग्रहबाट सकारात्मक नतिजा आएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा जानकारी दिइएअनुसार महानगरले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरूसँगको सहकार्यमा राजश्वका दर र दायराका बारेमा अध्ययन गरिरहेको छ । उक्त विषयमा पनि त्रिविका प्राध्यायकहरूले प्रस्तुतिकरण दिएका थिए ।
त्रिवि प्राध्यापकहरूले महानगरको करको दर र दायरा समयानुकुल भए नभएको, दर र दायरा बढाउन सकिने क्षेत्रसहितका विषयमा अध्ययन गरिरहेको छ । ललितपुर महानगरको करका विषयमा तुलनात्मक अध्ययनका लागि अनुसन्धान टोलीले काठमाडौं महानगरपालिका, महालक्ष्मी नगरपालिका, भरतपुर महानगर पालिकाको करको दर र दायराको सुष्म अवलोकन गरिरहेको छ । कार्यक्रमका प्रमुख अतिथि महानगर उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिकी संयोजक मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई सम्बृद्ध महानगर बनाउन राजश्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
राजश्व (कर) संसार भर प्रचलनमा रहेको जनाउँदै उहाँले नागरिकले तिरकै करबाट महानगरले टोल टोलमा विकास निर्माणसहित सामाजिक उत्तरदायित्वको कार्य गर्ने बताउनुभयो । विश्वव्यापी रुपमा आर्थिक मन्दी देखा परिरहेको अहिलेको परिवेशमा त्यसको असर हामी कहाँ पनि देखिनु स्वभाविक भए पनि लक्ष्य अनुसारको प्रतिफल प्राप्त गर्न मेहनत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दोस्रो दिनको कार्यक्रममा स्थानीय राजश्व परामर्श समितिका सदस्य एवम् ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेश जङग पाण्डेले करका विविध पक्षका विषयमा जानकारी दिँदै महानगरले करदाताहरूबाट समयमै कर उठाउन दिने गरेको छुटको समयसिमा बढाइएको स्मरण गर्नुभयो । उहाँले करका विषयमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडासचिव, सामाजिक परिचालक तथा करमा काम गर्ने कर्मचारीलाई करदातालाई तिर्नु पर्ने कर दायित्वका विषयमा समयमै जानकारी दिँदा त्यसको प्रतिफल सकारात्मक आउनेतर्फ ध्यान दिन आह्वान गरिएको थियो । ‘आय, व्यवसाय र पेशाअनुसार करदाताले फरक फरक ठाउँमा कर तिर्नु बुझाउनुपर्छ । यसरी कर, शुल्क, दस्तुर तथा राजस्व बुझाउँदा करदाताले अन्योल हुनु नपरोस् । कर तिर्ने करदाताहरुले प्राप्त गर्ने छुटसहितका सुविधा छन् । ती सुविधा सजिलै प्राप्त गर्ने वातावरण बन्न सकोस् भनेर जानकारी दिनपर्नेमा पनि कार्यक्रममा अवगत गराइएको थियो ।
कार्यक्रममा कर र करका सिद्धान्त, सरकार र व्यवसायीका दायित्वसँगै स्थानीय सरकारलाई तिर्नु बुझाउनुपर्ने बिज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो । कार्यक्रममा ह्याप्पी माइन्डस्का प्रतिनिधिले सहभागीहरूलाई तनाव व्यवस्थानका विविध पक्षका बारेमा सैद्धान्तिक र केही व्यवहारिक प्रस्तुति दिएका थिए ।