युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता 

सोमबार, वैशाख १५, २०८२
मयुर प्लाई

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदूत  भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । महानगरको मुख्यालय पुल्चोकमा भएको भेटवार्तामा नगर प्रमुख महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रबद्र्धनका क्षेत्रमा प्रशस्तै काम गरेको उनले राजदूतलाई जानकारी गराएका थिए । महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर काम गरिरहेको अवगत गराएका थिए । भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको  थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन संग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो । युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले सहरको  विकासमा देखाउनु भएको दुरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् ।  समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको उनको भनाई थियो । महानगरमा पाएको न्यानो आतिथ्यताप्रति उनले आभार प्रकट गर्दै  ललितपुर नागरिकको हित र सहरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र ईयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार