सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका छन् । सोमबार राति गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । यसक्रममा वैभवले ११ औं ओभरको दोस्रो बलमा वर्तमान विश्व क्रिकेटका उत्कृष्ट स्पिनर राशिद खानलाई मिडविकेटमा छक्का हान्दै ३५ बलमा शतक पुर्याए । टि २० क्रिकेटमा सवैभन्दा कम उमेरमा (१४ वर्ष ३२ दिन) दिनमा शतक हान्न उनले मोहम्मद शिराज, प्रसिद्ध कृष्णा र राशिद खान जस्ता बलरविरुद्ध आक्रामक प्रदर्शन गरेका थिए । उनी अघि टी २० मा कम उमेरमा शतक २०१३ मा महाराष्ट्रका विय जोलले मुम्बईविरुद्ध १८ वर्ष ११८ दिनमा हानेका थिए । क्रिस गेलको सन् २०१३ मा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलपछि यो आईपिएल इतिहासकै छिटो शतक हो । युसुफ पठानको १५ वर्षदेखि कायम (राजस्थानबाट मुम्बईविरुद्ध २०१० मा ३७ बलमा) भारतबाट सर्वाधिक छिटो शतक हान्ने आईपीएल कीर्तिमान पनि भङ्ग गरे । मनिष पाण्डेको बेंगलोरबाट डेक्सन चाजर्सविरुद्ध २००९ मा १९ वर्ष २५३ दिनमा हानेको शतकलाई पछि पार्दै कम उमेरका शतकधारी पनि बने ।
पछिल्ला पाँच खेलमा जित विहीन राजस्थान यस खेल हार्दा प्लेअफ दौडबाट बाहिरिने पक्का थियो । अझ पछिल्ला तीन खेलमा दिल्लीसँग सुपर ओभर, लखनऊविरुद्ध २ रन र बेंगलुरुसँग ११ रनको पिडा भुल्न सहज थिएन । किनभने सबै जिति सकेको अवस्थाबाट राजस्थानले हार्दा प्लेअफ यात्रा निकै कठिन बनेको थियो । त्यसैले दुई मध्य एक ओपनरले ठूलो इनिङ खेल्नु पर्दथ्यो । यस सिजनमा पावर प्लेमा उत्कृष्ट प्रभाव जमाउँदै आएका तीव्र गतिका बलर मोहम्मद शिराजले पहिलो ओभरको दोस्रो बलमा लगातार दुई वाडपछि डट राखेका थिए । लेन्थको उत्कृष्ट बलमा बिट भएका उनले अर्को बललाई सिधा छक्का हान्दै खाता खोलेका थिए । त्यसपछि पाँच बलमा दुई रन बटुले । चौथो ओभरमा भारतका अनुभवी बलर ईशान्त शर्मालाई तीन छक्का र दुई चौकासहित २८ रनको ओभर बनाए । त्यसपछि राजस्थान र गुजरात दुवै तर्फका खेलाडी उनको ब्याटिङ हेरेको हेर्यै भए । बलर फेरिए । तर उनको खेल्ने शैली फेरिएन । कलिलो उमेरमा उनले जयपुरको पिचमा देखाएको ब्याटिङ शैली, निडरपन र सटहरुमा विपक्षी बलरमा जवाफ नै थिएन । अझ भर्खर नै आइपीएल खेल्न थालेको हुँदा कमजोरी र बलियो पक्ष धेरै टोलीलाई नै थाहा छैन । अर्को ओभरमा स्पिनर वासिन्टन सुन्दरले दुई छक्का भेटे । त्यसै पाँचौं ओभरको अन्तिम बलमा सुन्दरलाई चौका हान्दै मात्रै १७ बलमा आफ्नो आईपीएल करिअरको अर्धशतक पूरा गरे । लखनऊ सुपर जायन्ट्सका निकोलस पुरनको १८ बलमो अर्धशतकलाई पछि पार्दै यस सिजनमा सर्वाधिक छिटो हान्ने खेलाडी बने । त्यसपछि प्रसिद्ध कृष्णा र राशिद खानको छैटौं र सातौं ओभरमा केहि सम्हालिएर खेल्न खोजे । उता टोलीले ७ ओभरमा कुनै विकेट नगुमाई ९१ रन बनाउँदै ड्रिम सुरुवात गरेको थियो । आठौं ओभरको अन्तिम बलमा प्रसिद्ध कृष्णालाई लङ अफमा छक्का हाने । डेब्यू गरेका अफगानिस्तानका मध्यगतिका बलर करिम जनतलाई उनी भारी मात्रै बनेनन् । पहिलो ओभरमै भविष्य जोखिममा पार्दिए । किनभने उनले जन्नतको डेब्यू दबाबको फाइदा उठाउँदै १० औं ओभरमा चार छक्का र दुई चौकासहित एकै ओभरमा ३० रन बटुले । त्यसपछि उनी ३४ बलमा ९४ मा पुग्दै शतक नजिक पुगे । ११ औ ओभरको दोस्रो बलमा राशिद खानलाई छक्का हान्दै आइपीएल इतिहासकै कम उमेरमा शतक हान्ने खेलाडी बने । उनको प्रदर्शन यतिसम्म उत्कृष्ट थियो की गुजरातका खेलाडी, समर्थक र शुभचिन्तकले समेत सम्मान गरेका थिए । राजस्थानको माहोल त फरक नै हुने भयो । ड्रेसिङ रुममा सबैले उठेर तालीका साथ सम्मान गरेका थिए । त्यस्मा मुख्य प्रशिक्षक राहुल द्रविड ह्वीचेयरबाट नै उठेर ताली बजाएका थिए । युवा खेलाडीलाई बनाउन द्रविड माहिर प्रशिक्षक हुन् ।
वैभवमाथि उनले गरेको विश्वास र लगानीको प्रतिफल पाउँदा मुस्कानमा चमकनै फरक थियो । १२ औं ओभरको पाँचौं बलमा प्रसिद्धको बलमा बोल्ड भएपछि उनको धुवादार ब्याटिङ त्यही अन्त्य भएको थियो । तर टोली भने १६६(२ को मजबुत अवस्थामा थियो । कलिलो ठिटोले मजबुत बलिङ आक्रामणविरुद्ध देखाएको निडरपन, खेल्ने स्वभाव, सट टेक्निक जति तारिफ गर्दापनि कम हुन्छ । उनी आउट भएपछि गुजरातकै खेलाडीले सम्मान गरेका थिए । गुजरातको डगआउटले पनि उठेर सम्मान गरेको थियो । खेलपछि उनले विपक्षी बलर भन्दापनि बल हेरेर खेल्ने बताए । ‘पछिल्लो ५,६ महिनादेखि यस्तै प्रदर्शनलाई मिहिनेत गरेको थिए । शतकको सपना हुँदा खुसी छु । म विपक्षी बलर भन्दापनि बल हेरेर खेल्न मन पराउछु’, प्लेयर अफ द म्याच जितेपछि उनले भने । आईपीएलमा उनको यो मात्रै तेस्रो इनिङ थियो । नियमित कप्तान सञ्जु स्यामन चोटका कारण यस सिजन खेल्न नसक्ने भएपछि अघिल्लो सातामात्रै लखनऊविरुद्ध जयपुरमा डेब्यू गरेका थिए । उनले डेब्यू खेलको पहिलो बलमा नै शार्दुल ठाकुरलाई छक्का हान्दै छनक देखाएका थिए । २० बलमा ३ छक्का र २ चौकासहित ३४ रन जोड्दै टोलीमा ठूलो आशा देखाएका थिए । एडेन मारक्रमको बलमा अघि बढेर खेल्ने धुनमा स्टम्पिङ आउट भएका थिए । बेंगलोरविरुद्ध भुवनेश्वर कुमारलाई दुई छक्का हान्दै १६ रन जोडेका थिए । तेस्रो खेलमा गुजरातविरुद्ध ड्रिम र विश्वकीर्तिमानी शतक ठोके । अर्कोतर्फ अक्सनमा आफूलाई करोड किन खर्चेको जवाफ पनि थियो ।
वैभव सूर्यवंशीको क्रिकेट यात्रा वैभवको जन्म सन् २०११ मार्च २७ मा बिहारको ताजपुर गाउँमा भएको थियो । उनी जन्मेको पाँच दिनपछि भारतले एकदिवसीय विश्वकप २०११ को फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । मध्यम परिवारमा जन्मिएका उनले चार वर्षकै उमेरमा क्रिकेट यात्रा थालेका थिए । छोरा क्रिकेट खेल्न थालेपछि सञ्जीवले घरछेऊमै सानो मैदान र अभ्यास गर्ने नेट बनाइदिए । छोरा ९ वर्षको भएपछि नजिकैको समस्तीपुर शहरको एकेडेमीमा भर्ना गर्दिए । त्यसपछि छोरालाई ल्याउने लैजाने काम उनको भयो । जहाँ प्रतियोगिता खेल्न जान्थे त्यहाँ बुबाले नै छाड्नु पर्दथ्यो । समय र खर्च दुवै बढ्दै गयो । छोराको पछि लाग्दा बुबा बेरोजगार जस्तै बने । छोरालाई क्रिकेटर नै बनाउन उनले मोतीपुरमा रहेको खेत नै बेचिदिएका थिए । त्यसपछि उनले बिहान बेलुका उनलाई प्रशिक्षण गराउथे । जतिबेला छोरालाई खेल्न मन लाग्यो त्यतिबेला उनी तयार हुन्थे । पानीमा समेत ब्याटि ङ गर्ने गराएको उनी बताउँछन् । वैभव १२ वर्षको हुँदा विनोद मकांड ट्रफी (यू१९) प्रतियोगितामा पाँच खेलमा ४ सय रन बनाए । त्यसपछि नी बिहार हुँदै भारत बी को यू १९ टोलीमा २०२३ मा परेका थिए । नोभेम्बरमा चार टोली (भारत ए, बी, बंगलादेश र इंग्ल्यान्ड यू १९) विरुद्ध सिरिजमा भारत बी मा स्थान बनाएका थिए । आईसीसी यू१९ विश्वकप २०२४ अघि भारतको टोली छनोटको रुपमा हेरिएको उक्त सिरिजमा उनले इंग्ल्यान्डविरुद्ध ५३ र ४१, बंगलादेशविरुद्ध ० र फाइनलमा भारत ए विरुद्ध ८ रनमा आउट भएका थिए । त्यसपछि बिहारको यू२३ हुँदै रणजी ट्रफी टोलीमा परे । १२ वर्ष २८४ दिनमा उनले रणजी ट्रफीमा मुम्बईविरुद्ध २०२४ जनवरी ५ मा डेब्यू गर्दै १९ र १२ रन जोडेका थिए । सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध युथ टेस्टको पहिलो खेलमा चेन्नईविरुद्ध ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रन बनाएका थिए । उनले कम उमेरमा (१३ वर्ष १ सय ८८ दिन) प्रतिस्पर्धात्मक क्रिकेटमा शतक हान्ने खेलाडी बने । उनले बंगलादेशका नाज्मुल हसन सान्टोले २०१३ मा श्रीलंकाविरुद्ध १४ वर्ष २४१ दिनमा हानेको शतकको कीर्तिमान तोडेका थिए । नोभेम्बर २४ र २५ मा साउदी अरेवियामा भएको मेगा अक्सनमा सूर्यवंशीले आफ्नो नाम न्यूनतम ३० लाख भारुमा दर्ता गराएका थिए । उनलाई किन्न दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो । अक्सन अघि नै राजस्थानले आफ्नो एकेडेमी नागपुरमा वैभवलाई बोलाएर हेरेको थियो । एकेडेमीमा उनको प्रदर्शनबाट प्रभावित भएपछि टोलीमा राजस्थानले राख्ने लगभग पक्का थियो । तर त्यो कुरा दिल्लीले पनि थाहा पाइसकेको थियो । त्यसैले अक्सनमा दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा चल्यो ।
दिल्लीले उनको नाम अक्सनमा आउँदा २५ कोटामा १८ र राजस्थानले १६ खेलाडी किनेका थिए । राजस्थानसँग खर्च गर्न पाउने रकम ४ करोड र दिल्लीसँग २ करोड ७५ लाख थियो । करोडमा मूल्य पुगेपछि अन्य खेलाडी किन्न पैसा नपुग्ने हुँदा दिल्लीले छाडेपछि राजस्थानले १ करोड १० लाखमा उनलाई टोलीमा अनुबन्ध गरेको थियो । अक्सनमा उनले पाएको मूल्यलाई लिएर राम्रो चर्चा भएको थियो । त्यसपछि २०२४ नोभेम्बर अन्तिम देखि दुबईमा सुरु भएकोे यू१९ एसिया कपमा उनी भारतको टोलीमा परेका थिए । उनी पाकिस्तानसँग १, जापानविरुद्ध २३, यूएईविरुद्ध ४३ बलमा ३ चौका र ६ छक्कासहित ७६, श्रीलंकाविरुद्ध सेमिफाइनलमा ३६ बलमा ६ चौका र ५ छक्कासहित ६७ रन जोड्दै प्लेयर अफ द म्याच र फाइनलमा बंगलादेशविरुद्ध ९ रन बनाएका थिए । एसिया कपमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनी यू१९ विश्वकप टोलीमा परेनन् । एसिया कप खेलेर आएको तीन सातापछि उनी विजय हजारे ट्रफी (भारतको एकदिवसीय घरेलु प्रतियोगिता) खेल्ने बिहारको टोलीमा परे । बरोडविरुद्ध ७१ रन बाहेक अन्य खेलहरुमा निरन्तर मौका पाएपनि राम्रो प्रदर्शन गर्न सकेनन् । विजय हजारेमा राम्रो नगरेपछि उनलाई केही दबाब परेको थियो । तर राजस्थान रोयल्समा राहुल द्रविड र कुमार संगाकारा जस्ता उत्कृष्ट प्रशिक्षकको अन्डरमा आफ्नो कमजोरीमा सुधार गरे । सुरुवातमा बेन्चमा रहेका उनलाई कप्तान सञ्जु स्यामसन घाइते बन्नु अवसर बन्यो । त्यसै अवसरको सुरुवातमा दमदार प्रदर्शन विश्वलाई देखाउन सफल भए ।