सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ स्थित सोना पुखुः र वडा कार्यालय भवन निर्माण अलपत्र छ । मध्यपुरथिमि नगरपालिकाले परम्परागत शैलीमा पोखरी र त्यसमाथि आकर्षक स्वरुपमा ६ नं वडा कार्यालय भवन निर्माण गर्न शिलान्यास गरेपछि निर्माण रोकिएको हो । नगरपालिकाले रु एक करोड २० लाखको बजेट विनियोजन गर्दै वडा कार्यालयको जीर्ण भवन भत्काएर नयाँ भवन निर्माण गर्न नगरप्रमुख मदनसुन्दर श्रेष्ठले २०७६ मङ्सिरमा शिलान्यास गरेका थिए । कार्यालय सञ्चालन भइरहेको भवन भत्काएर बाहखा बजारस्थित भाडाको घरमा सारेको दुई वर्ष बित्न लाग्दा पनि भवन निर्माण नहुँदा ज्येष्ठ नागरिकदेखि अपाङ्गता भएका व्यक्तिसम्मलाई सेवा लिन समस्या परेको गुनासो गरेका छन् । तत्कालीन चपाचो गाउँ पञ्चायत, त्यसपछि चपोचो गाविस हुँदै वडा नं ८, ९, १० को कार्यालय र स्थानीय सरकारसँगै वडा तथा नगरपालिकाको संरचना परिवर्तन भएपछि यस भवनमा वडा नं ६ को वडा कार्यालय रहँदै आएको थियो । नगरप्रमुख श्रेष्ठले भने, “पोखरीमाथि कार्यालय भवन, हेर्न पनि निकै राम्रो देखिने, पोखरीलाई पनि आकर्षक ढङ्गले बनाउने, सबैलाई पायक पर्ने ठाउँमा कार्यालयको भवन रहने भएपछि स्थानीयवासीकै मागअनुसार पुरानो जीर्ण भवनलाई भत्काएर परम्परागत शैलीमा नयाँ भवन बनाउने नगरपालिकाले निर्णय गर्दै शुरु गरेको हौँ, शिलान्यासपछि केहीले विरोध गर्दा निर्माण नै रोकिएको हो ।” विवादकै बीच जबर्जस्ती गर्न नसकिने भन्दै उनले स्थानीयवासीमा सहमति बन्ने बित्तिकै पोखरी र भवन निर्माण शुरु हने बताए । शिलान्याससँगै केही अभियाकर्मीले पोखरीमाथि भवन बनाउन पाइँदैन भन्दै विरोध गर्दा भवन निर्माण अलपत्र परेको हो । अभियानकर्मीले गरेको विरोधले स्थानीयवासीमै फुट ल्याएर एक पक्षले त्यहीँ भवन बनाउनुपर्छ र अर्को पक्षले त्यहाँ बनाउनु हुँदैन भन्दै विभाजित भएर विवाद आएपछि आफ्नै टोलको विकास रोकिएकोे यहाँका बासिन्दाको गुनासो छ । उनका अनुसार वडा कार्यालयको भवन बनाउन अन्त कतै जग्गा छैन । त्यो ठाउँ वडाका सबै बासिन्दालाई पायक पर्ने ठाउँ भएकाले त्यहीँ बनाउन लागिएको हो । पोखरीमाथि चार तलाको सुविधायुक्त वडा कार्यालयको भवन निर्माण गर्ने र पोखरीको पहिचानलाई जीवितै राख्दै आकर्षकरूपमा पोखरी बनाउने गरी नगरपालिकाले योजना बनाएको वडाध्यक्ष प्रजापतिको भनाइ छ । चार तलालाई घटाएर भए पनि कार्यालय भवन त्यहीँ बनाउने गरी सहमतिको प्रयास भइरहेको भन्दै उनले सहमतिपछि भवन निर्माण शुरु हुने बताए ।