सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सरकारले समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सो आयोजनाको उद्घाटन गरेका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ केन्द्र सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यो लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी क्षेत्रका ऊर्जा उद्यमीले निर्माण गरेका ६० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाले बिजुली जोडन सक्ने भएका छन् । ती सबै आयोजना केही सम्पन्न हुने चरणमा पुगेका छन् भने केही निर्माणका क्रममा छन् । कूल २६ किलोमिटर प्रसारण लाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किटयुक्त छ । त्यसमा दुई सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ । समुन्द्रटार सबस्टेसनमा १३२÷३३ केभीतर्फ दुई थान ३० एमभीए क्षमताका ट्रान्सफर्मर र ३३÷११ केभीतर्फ दुई थान आठ एमभिए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । त्यस्तै १३२ केभीतर्फ पाँच वटा ‘बे’ र ३३ केभीतर्फ चार वटा ‘बे’ उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ । सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी) तथा युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन र सबस्टेसनको कूल लागत एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिइ एफइपिइसी जेभी, चीनसँग २०७३ मङ्सिर १३ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९४८ रोपनी जग्गा उपयोग गरिएको छ । सो आयोजनाको उद्घाटन गर्दै प्र्रधानमन्त्रीले ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको थियो । सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढङ्गले अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो । ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सहायक लाइनहरू नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ’, प्रधानमन्त्रीले भने ।–रासस