सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि पुनः वर्षा हुनथालेपछि निराश भएका हुन् । यही असार १५ गते धान दिवस मनाइएकै दिनदेखि लगातार परेको पानी आइतबार बिहानदेखि झलमल्ल घाम देखिएको थियो । छैटौँ दिन आकाश उघ्रँदा पानी अब रोकिन्छ भन्ने आश त्यसै दिन साँझ दोहोरिएर पानी पर्न थालेसँगै मरेको यहाँका किसान बताउँछन् । घट्दै गएको नदीको सतह मुसलधार पानी परेसँगै ह्वात्तै बढेको छ । यहाँका रातु, बडहरी, ओक्सी, कुटमेश्वरी, मरहा, जङ्घा र बाँकेसहितका नदीमा उर्लेको बाढी बस्ती÷बस्तीमा पसेको छ । जिल्ला सदरमुकाम जलेश्वरका रतबारा, बखरी, बेला, रमौल, बजराही, धवौली, मलिवारा, खैरा र भिठ्ठामोर बस्ती रातु नदीको बाढी उछालिएर पस्दा जलमग्न भएका छन् । जलेश्वर नगरको मुख्य चोक मानिने नगरपालिका र शङ्करचोकका सडकमा बाढी बगेको छ । रातुको बाढीले बहावा क्षेत्र, सडक, खेत, बस्ती केही छुट्याउन नसकिने भएको बखरीवासी कौशलेन्द्र शर्मा बताउनुहुन्छ । जिल्ला सदरमुकाम जलेश्वरबाट मटिहानी जाने सडकको सुगाभवानीपट्टी नजिकको लचका (कजवे) मा बाढी चलेपछि साइकल, मोटरसाइकल र टेम्पुसहितका साना सवारी साधन चल्न सकेका छैनन् । बर्दिबास–रामगोपालपुर–जलेश्वर सडकका कैयन ठाउँ डुबान र कटानमा परेका छन् । बर्दिबास–रौजा–जलेश्वर, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र ग्रामीण क्षेत्रमा यातायात सञ्चालन हुँदै आएका सडकको वर्षा र बाढीको पानीले बेहाल बनाएको छ । असार–१५ देखिको अविरल वर्षा र त्यससँगैको बाढीले जिल्लाका दर्जनौँ बस्ती डुबानमा परेका छन् । पराले छाप्रामा गुजारा चलाएका गरीबको टाउको ओताउने छाप्रो पनि बाढीले बगाएको छ । जताततै जलमग्न हुँदा क्षतिको यकीन विवरण लिन पनि सकस छ । यसपाली पछिल्लो वर्षा र बाढीले कटानभन्दा डुबानले क्षति बढाएको जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंह बताउछन् । जिल्लामा ५० हजार हेक्टर क्षेत्रफल धानखेती गरिँदै आइए पनि मौसमको प्रतिकूलताले अपेक्षित रोपाइँ कहिल्यै गर्न नसकिएको किसान बताउँछन् । जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइको प्रबन्ध (कुलो, नहर) पुगेको र बाँकी जग्गा आकासे खेतीकै भरमा गरिन्छ । स्थायी सिँचाइ प्रबन्ध भएका ठाउँमा पनि खडेरी पर्दा पानीको स्रोतको मुहान सुकेर आकाश नै ताक्नु पर्ने अवस्था कैयौँ साल परेको सिञ्चित भनिएको क्षेत्रकै किसान बताउँछन् । जिल्लाको यो अवस्था अन्त्यका लागि टालटुले बाँधले नथेग्ने देखिएको छ । कटान र डुबान रोक्न नदीमा दुईतर्फी पक्की तटबन्ध निर्माण र नदी र यिनका मुहान क्षेत्रमा हुने अनियन्त्रित उत्खनन् रोक्नसके मात्र अवस्था फेरिने पाका किसानको भनाइ छ । यस काममा तीनै तहका सरकारको पहलकदमी, तदारुखता र प्रतिबद्धता काममै देखिए बाढी, डुबान र कटानको समस्या घट्दै जाने जलेश्वर–६ बखरीका ८० वर्षीय महेश्वर रायको सुझाव छ ।