करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

बुधबार, असार २३, २०७८


– सुरेझ झा÷ पुरुषोत्तम सुवेदी वाग्मती ।
वाग्मती  प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग  लिमिटेडलाई  कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा  ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव  ०७६÷७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७÷७८ मा समेत  करीब रु २५ करोड बराबरको आर्थिक कारोवार नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जनाएको छ । कारोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा  बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिनुभयो । 
दुई आर्थिक बर्ष देखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा  बिक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको  हो । अझ सिमेन्ट बिक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ । सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आर्थिक बर्ष बाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रुपमा ठूलो नोक्सानीसहित  सञ्चालन हँुदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हँुदै आएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब रु दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करीब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ  । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ । 
उद्योगका अनुसार  यता  आव २०७५÷७६ मा पनि  उद्योगले करीब रु  १६ करोड  ६५ लाख बरावरको घाटा बेहोरेको देखिन्छ  । यद्यपि आव २०७३÷७४ मा  रु १५ करोड र आव  २०७४÷७५ मा कूल रु १६ करोड उद्योगले आर्थिक रुपमा नाफा  गरेको देखिन्छ । स्थापनाकालको अवस्थामा  आव ०४८÷४९ मा आर्थिक रुपमा केही नाफा देखिएको उद्योगमा पछिल्लो सबैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको अवस्था छ । 
वि.सं २०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ स्थायी र करीब १०० ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन् ।  

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार