सोसल मिडिया
Contact Us
युनिकोड
सातदोबाटो । सप्तेश्वर महादेवको ‘अपोजिट साइड’ । एक महिला आफ्नो कर्ममा दत्तचित थिइन् । एक पुरुष ती महिलाको कामलाई सक्दो सघाइरहेका देखिन्थे । सडक किनारमै राखिएको गाडामा राखिएको ग्याँस चुल्होमा उनी चिया पकाउँछिन् । त्यहाँ बिस्कुट, चाउचाउ, चटपटे पनि छ । साहरा दिने वैशाखी गाडाको साहरामा अडिएको छ । त्यसरी अडिएको वैशाखी देखेर मैले ती पुरुषलाई सोधेँ, ‘दाइ यो कसको वैशाखी नि ? उनी त्यत्तिखेर उम्लिरहेको पानीमा चिनी हाल्दै थिए । यो प्रश्न उनका लागि नितान्त बेग्लै थियो । ‘चाउचाउ छ ?, चटपटे बन्छ ? चिया बनाइदिनुस् न, एक बोतल पानी दिनुस् न ....’ यस्तै यस्तै प्रश्न खेपिरहेका तुलाराम गौतमले बत्ती कातिरहेकी आफ्नी जीवनसंगीतर्फ देखाउँदै भने, ‘उनको ।’ तुलारामको यो लवजले जीवनरुपी रथलाई सँगैसँगै चलाउने संकल्प गरेका उनीहरू दुई नामका एकै यात्राका सहयात्री रहेछन् भनि निधो गर्न मलाई गाह्रो भएन । त्यसैले मैले मेरो हतारोलाई एकछिन सुस्ताउन दिने निश्चय गरेँ । र, अरु कुरा थाँती राखेर निश्चय गरेँ, उनीको भोगाईको श्रोता बन्न । उनीहरू दुबैलाई बिहान चार बज्दा नबज्दै निद्राले छाड्छ । त्यसो त सधैं साढे ४ बजे उनको टेबुल घडीले उठाउन घण्टी बजाउँछ । पूजापाठ, दिनभरको कार्ययोजनापछि यो दम्पत्ती डेराबाट निस्कछ । डेराबाट व्यापार गर्ने ठाउँसम्म पुग्न पाँचदेखि सात मिनेट लाग्छ । दिनभर गाडाको आडमा अडिने वैशाखीले तारा गौतमलाई सातादोबाटोसम्म पुग्न सहारा दिन्छ । यो वैशाखी त उनको बाहिरी साहारा हो ।
आफ्नो आत्माविश्वास सबैभन्दा ठूलो वैशाखी हो ताराका लागि । जतिसुकै अप्ठ्यारो परिस्थिति आएपनि आत्मबलकोे वैशाखीले उनलाई बलियो बनाउँछ । ताराको देब्रे गोडा पिँडुला मुनिको भाग छैन । हड्डीको क्यान्सर भएपछि तीन वर्षअघि उनको गोडाको त्यो भाग काट्नु परेको थियो । हिँड्ने गोडा नभएर के भयो त । गोडा नभएकै कारण उनले आफूलाई कमजोर महसुश गरिनन् । हातगोडा सद्दे हुनेलाई त उनले चुनौती दिइन नै । अपागङ्ताको नामका माग्दै हिँड्नेका लागि समेत आफ्नो मिहिनेत झड्का भएको उनी बताउँछिन् । भन्छिन्, ‘ माग्दै हिँडेको देख्दा कहिले दया लाग्छ, कहिले दिक्क लागेर आउँछ ।’ विभिन्न रोगका कारण उनको शरीरमा पाँचवटा शल्यक्रिया भैसके । ती सबै रोगको उपचारदेखि शल्यक्रियासम्मको खर्च यही पसलले धानेको छ । २१ वर्षदेखि उनीहरू सातदोबाटोको सेरोफेरोमै छन् । कहिले यो चोक, कहिले अर्को चोक, कहिले यताको सडक किनार त कहिले उताको सडक किनार । जे होस् सातदोबाटोसँग थाहै नपाई भएको यो संगतले उनीहरूलाई सधै कुरा दिएको छ । यो किराना पसल ताराका लागि सबै कुरा हो । ताराले यसो भनिरहँदा तुलाराम उनलाई एकहोरो हेरिरहेका थिए । मौनतभित्रको संवाद उनको अनुहारमा देखिएको भावमा पढ्न सकिन्थ्यो । बिरामी हुँदा छोराछोरीले यो पसल धाने । भन्छिन्, ‘रोगको उपचारदेखि, छोराछोरीको पढाई खर्च, लेखाइपढाई सब धनेको छ ।’ त्यसैले उनलाई लाग्छ , गरिखाने जाँगर भए, काठमाडौं बाँच्न, छोराछोरी पढाउन गाह्रो छैन । त्यत्ति मात्रै कहाँ हो र । तारा बिरामी हुँदा लागेको १२–१५ लाख ऋण उनीहरूले गाडाको व्यापारबाट नै तिरे । लागेको ऋण, सुखदुःखको फेरहिस्त सुनाइरहँदा तुलारामले आफूप्रति समाजको विश्वास सुनाए । उपचारको क्रममा पैसा नभएपछि उनलाई सामान्य चिनजानका मान्छेले पाँच लाख पत्याएका रहेछन् । साहुँ, व्याज गरेर उनले त्यत्तिखेर साँढे सात लाख बुझाएका रहेछन् । फराकिलो चत्रपथलाई साक्षी राखेर श्रममा खटिइरहेको यो जोडी पैसाका लागि केहीमा सम्झौता गर्दैन ।
तुलाराम भन्छन्, ‘अहिलेसम्म कसैको विश्वासघात गरेको छैन, त्यसैले होला सबैले विश्वास गर्छन् ।’ त्यसैले उनको चिया पसल खोज्दै आउँछन् चियाका पारखीहरू । लकडाउन भर्खर खुल्दा पनि उनको पसलमा अरूतिर भन्दा चहलपहल धेरै छ । त्यसो त उनीको व्यवसायलाई मात्रै होइन, कोरोनाले धेरैको व्यवसायलाई असर गरेको छ । सामान्य अवस्थामा त दिनमा ४ हजारसम्मको व्यापार हुन्थ्यो । अहिले एक हजारसम्मको व्यापार हुन्छ । हड्डीको क्यान्सर केही वर्षअघिदेखि ताराको कुर्कुच्चामा ‘खिल’ जस्तो डल्लो देखिएको थियो । २०७२ सालको भूकम्पमा भागदौडमा उनी लडिन् । त्यो दिन लडेपनि घाउ ठूलो भयो । घाउ निको बनाउन धेरैवटा अस्पताल पुगिन् । घाउ निको भएन । हड्डीको क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि भक्तपुर क्यान्सर अस्पताल पुगिन् । त्यहाँ पालो पर्खनुपर्ने जानकारी पाएपछि उनी चितवन क्यान्सर गईन् । रोग निको बनाउन पिँडुला मुनिको भाग काट्नुपर्ने निर्णय गरे चिकित्सकले । रोग फ्याँकेपछि ताराभित्रको आत्मविश्वास झनै दह्रो भयो । ‘घाउ निको नहुँदै म पसलमा आउँथेँ’ श्रमप्रतिको माया र सम्मानलाई उनले एक्कै शब्दमा व्यक्त गरिन् । उनको पसलमा बाटो हिँड्नेले चिया खान्छन् । चाउचाउ, बिस्कुट किन्छन् । पानीको बोतल किन्ने पनि खुबै हुन्छन् । वरपरका अफिसले उनकै पसलबाट चिया मगाउँछन् । जे होस् उनको पसल मज्जाले चलेको छ । त्यो पसलले उनीहरूलाई खुशी दिएको छ । दुईजनाको मिहिनेतले सात जनाको परिवार पालिएको छ । तारा दम्पत्तीलाई सोतदोबाटोले धेरै कुरा दिएको छ । आँट, विश्वास, समर्पण यस्तै यस्तै ।...लाई ताराको कामप्रतिको लगाव देखेर आँट आउँछ । मान्छे त न हो, उनी कहिलेकाहिँ निराश हुन्छन् । कहिले काहिँ अल्छी लाग्छ । तर, ताराको कामप्रतिको लगावले उनमा आँट आउँछ । धेरै समस्या भोग्दा पनि कहिल्यै कमजोर नहुने जीवनसंगिनीको शक्ति देखेर उनी गर्व गर्छन् । त्यसो त उनले ताराको चित्त दुखाएका छैनन् । आफ्नो बोली र व्यवहारले जीवनसंगिनीको चित्त दुख्ला कि भन्दै उनी सचेत छन् । दौडधुपको काम उनी गर्छन् । बसेर गर्ने काम ताराको जिम्मामा छ । मिहिनेत, लगाव, समर्पणको पयार्य कर्मशील यो दम्पत्तीलाई भन्न मन लाग्छ, क्याबात तारा र तुलाराम !