सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड–१९ले पारेको असर मध्यनजर गर्दै महानगरभित्रका संस्थागत विद्यालयलाई मासिक पढाई शुल्क मात्रै लिन पत्राचार गरेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा गठित महानगरीय शिक्षा समितिको बैठकले उक्त निर्णय गरेपछि संस्थागत विद्यालयलाई पत्रचार गरिएको हो । पत्रमा शैक्षिक सत्र २०७६ को मासिक शुल्कमा वृद्धि नगरी पढाई शुल्क लिन भनिएको छ । संस्थागत विद्यालयले यसअघि पुस्तकालय शुल्क, कम्प्युटर शुल्कलगायत विभिन्न शीर्षकमा शुल्क लिदैं आएका थिए । अनलाइनमार्फत पढाएको महिनाको मात्रै शुल्क लिन आग्रह गरिएको पत्रमा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ मा एक महिनाको छुट दिन पनि भनिएको छ । विद्यालयले लिएको शुल्कको बारेमा छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिबाट अनुगमन गर्ने समेत बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले शिक्षक तथा कर्मचारी छनौट समितिको अध्यक्षमा शिक्षा समितिका सदस्य लोकबहादुर खड्कालाई नियुक्त गरेको छ । त्यसैगरी उक्त समितिमा विशेषज्ञ सदस्यहरुमा प्रभात माविका सुरेन्द्र घिमिरे र महेन्द्र भृकुटी माविका सुषमा सिलवाल मनोनयन भएका छन् । सामुदायिक विद्यालयको रिक्त पदमा शिक्षक तथा कर्मचारीको करार नियुक्तिका लागि उक्त समितिले छनौट गर्छ ।