सोसल मिडिया
Contact Us
युनिकोड
रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधनसमेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ । विगत वर्ष २०७६÷७७ मा भन्सार शुल्कबापतको राजस्व रु आठ अर्ब २७ करोड ७७ लाख असुली भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीनबीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन् । रासस