सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद्मा दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतबार देउवालाई विपक्षी नेकपा एमालेकै सांसदहरूले मत दिएका छन् । विश्वासको मत दिने एमाले सांसदहरूमा माधवकुमार नेपाल र उनी पक्षका छन् । एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका केही सांसदहरूले पनि नेपालसँगै देउवालाई विश्वासको मत दिएका छन् । ओली सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि देउवा सरकारलाई मत दिएको छ । सरकारको पक्षमा १६५ मत परेको परिणाम सुनाउँदै सभामुख अग्नि सापकोटाले भने, त्यो प्रतिनिधि सभाको तत्काल कायम रहेको सङ्ख्याको बहुमत भएकोले सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु। देउवालाई समर्थन गर्नेमा उनकै पार्टी कांग्रेस, सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका साथै सरकारमा सहभागी नभएको जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद पनि छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएका हुन् । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।
अन्तिमसम्म धुकचुक सरकारलाई विश्वासको मत दिनेमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिले नै निर्णय गरिसकेका थिए । अन्तिम समयसम्म पनि एमालेको नेपाल पक्षका सांसदहरूको सङ्ख्या र निर्णयबारे अन्योल थियो । नेपाल पक्षकै कतिपय नेताहरूले विश्वासको मत दिन नहुने पक्षमा मत राखेपछि उक्त समूहको निर्णयमा देउवा सरकारको भविष्य निर्भर रहेको ठानिएको थियो । तर नेपाल पक्षमा त्यसबारेको छलफल चलिनैरहेका बेला जसपाको ठाकुर पक्षले पनि मत दिने निर्णय गरेपछि सरकारको पक्षमा विश्वासको मत पुग्ने निश्चित भएको थियो । नेपाल पक्षका केही सांसदहरू मतदानमा सहभागी भएनन् ।
एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
ठाकुर-यादव दुवै पक्षको मत देउवालाई
देउवाको पक्षमा रिट निवेदनमा जसपाका यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए । तर विश्वासको मतबारे छलफल चलिरहँदा उक्त पक्षमा त्यो सङ्ख्या बढेको खबर आएको थियो । यसअघि महन्थ ठाकुर पक्ष केपी ओलीको सरकारलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो । देउवाले नेता ठाकुरलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षले मत दिने निर्णय लिएको हो । विश्वासको मत सम्बन्धमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेनन् । मतदान प्रक्रियाका सुरु हुने बेलामा ओली संसद् भवन प्रवेश गरेका थिए । उनको दलबाट नेता प्रदीप ज्ञवालीले धारणा राखेका थिए । ओलीले सम्बोधन नगरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीले संसद्मा मत मागेपछि बोल्ने अन्य नेताहरूमा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, राजपा नेपालका महन्थ ठाकुर र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल थिए ।