जाँदाजाँदै ओली सरकारको अर्काे निर्णय : स्मार्ट टेलिकमले राज्यलाई बुझाउनु पर्ने ६ अर्ब बुझाउन ६ महिना समय थप

सोमबार, साउन ४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ६ अर्ब रुपैयाँ बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो ।  यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको उक्त कम्पनीलाई रकम भुक्तानी नगरी पुनः म्याद थप को आग्रह गरेको थियो । कम्पनीको आग्रह अनुसार आगामी पुस मसान्तसम्म रकम भुक्तानीको समय दिइएको हो । 
मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार ३० गते नै मन्त्रालयबाट ६ महिना म्याद थपको पत्र प्राधिकरणमा आएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार म्याद थप पश्चात उक्त कम्पनीले प्रत्येक महिनाको प्रगति विवरण प्राधिकरणमा बुझाउनुपर्नेछ ।
कम्पनीले बुझाएको विवरणका आधारमा प्राधिकरणले आगामी कात्तिक मसान्तभित्र स्मार्ट टेलिकमको वित्तीय अवस्थाको विश्लेषण गरी मन्त्रालयमा बुझाउनुपर्नेछ । बक्यौता रकम भुक्तानी नगरेपछि गत चैतमा प्राधिकरणले सम्पत्ति रोक्का गर्न नापी र मालपोत कार्यालयलाई पत्राचारसमेत गरेको थियो । 
उक्त कम्पनीले विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्ने रकम चार वर्षदेखि भुक्तानी गरेको छैन । स्मार्टले विभिन्न शीर्षकमा असार मसान्तसम्म सरकारलाई बुझाउनुपर्ने रकम रु छ अर्ब बढी रहेको पाइएको छ । जसमा फ्रिक्वेन्सी दस्तुरबापत स्मार्टले पहिलो किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बुझाउनुपर्ने थियो  । दोस्रो किस्तामा ८३ करोड २३ लाख रुपैयाँ, तेस्रो किस्तामा ७७ करोड ४० लाख, चौथो किस्तामा ७१ करोड ५६ लाख र पाँचौं किस्तामा ६५ करोड ७२ लाख रुपैयाँ बुझाउनुपर्ने गरी प्राधिकरणले किस्ता निर्धारण गरेको थियो ।
पाँच किस्तामा स्मार्टले सरकारलाई  तीन अर्ब ५७ करोड ८१ लख रुपैयाँ, लाइसेन्स नवीकरण दस्तुरको आठौं किस्ताबापत रु एक अर्ब २५ करोड र समग्र बक्यौतामा ब्याज जोड्दा स्मार्टले तिर्नुपर्ने कूल रकम करीब छ अर्ब रुपैयाँ पुगिसकेको छ ।
लामो समयदेखि रकम भुक्तानी नगरेको जनाउँदै स्मार्टलगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले २०७५ सालको माघ महिनामा रकम भुक्तानीको निर्देशन दिएको थियो । विभिन्न निकायबाट पटकपटक रकम भुक्तानीको निर्देशन दिए पनि स्मार्टले रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार