सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए । जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उनले बताउनुभयो । देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । उनका अनुसार नागरिकले कोभिड–१९ को सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् । प्राकृतिक विपद् र विश्वव्यापी महामारीले मानवीय क्षति हुन नदिन दुर्गम जिल्ला मनाङलाई मागअनुसारको खोप उपलब्ध गराएको गण्डकीका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताए । “प्रदेशका सबै जिल्लामा कोभिडविरुद्धको पूर्ण मात्रा खोप पु¥याउने लक्ष्य हो, तर विकट जिल्ला मनाङलाई प्राथमिकतामा राखी खोप उपलब्ध गरायौँ, अन्य जिल्लालाई पनि पूर्णरुपमा खोप उपलब्ध गराउने कसरतमा छौँ” गुरुङले भने । “विपद् सँगसँगै कोभिडको जोखिमबाट बचाउनका लागि दुर्गम जिल्ला मनाङका नागरिकलाई खोप लगाउन सफल भएका छौँ”, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, “स्थानीय तहको समन्वयमा प्रदेश सरकार र सङ्घ सरकारले दुर्गम जिल्लालाई प्राथमिकता दिएर खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्दछु, जसले आमनागरिकलाई सुरक्षित बनाएको छ ।” मनाङमा बाढीपहिराको जोखिममा रहेको अवस्थामा कोभिडविरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।