सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । दक्षिण ललितपुरको अग्रणी शैक्षिक संस्था जनभावना क्याम्पसले अनुसन्धानमूलक कार्यलाई थप प्रभावकारी बनाउन गोदावरी क्षेत्र भित्रका प्रतिष्ठित विभिन्न सामाजिक तथा वित्तिय संघ संस्थाहरुसँग अनुसन्धानात्मक कार्य अगाडि बढाउने सम्बन्धी सझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यलाई निरन्तार दिएको छ । यसै सन्दर्भमा शुक्रबार गोदावरी उद्योग वाणिज्य संघ (जीसीसीआई) सँग अनुसन्धानमूलक कार्यहरु गर्ने गरी जनभावना क्याम्पसले समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा जीसीसीआईका तर्फबाट अध्यक्ष जगन्नाथ महर्जन तथा जनभावना क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख शिवराज सञ्जेलले हस्ताक्षर गरेका थिए । जीसीसीआईसँगको लामो छलफलपछि समझदारी पत्रमा हस्ताक्षर गर्ने वातावरण बनेको जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले बताए । समझदारी पत्र अनुसार सम्बृद्ध गोदावरी बनाउनका लागि दुई संस्थाबीच आपसी सम्बन्ध अभिवृद्धि गर्दै अनुसन्धानमूलक कार्यहरु गर्ने उल्लेख छ । गोदावरी नगर क्षेत्रमका उद्योग–वाणिज्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि अनुभव आदान प्रदान गरिने उल्लेख छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर सम्मको पढाई हुने उक्त क्याम्पसले विद्यार्थीहरुलाई गोदावरी क्षेत्र भित्रका उद्योग तथा वित्तिय क्षेत्रमा इन्टर्नका रुपमा विद्यार्थी पठाउने, उद्योग वाणिज्य क्षेत्रमा क्रियाशील संघ संस्थाहरुको आवश्यकता अनुसारका दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा पनि दुई संस्थाहरुबीच सहकार्य गर्ने विषय पनि समेटिएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलले जीसीसीआईसँग गरिएको सझदारीपछि जनभावनाले बजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बजारमा पठाउनु पर्ने चुनौती थपिए पनि आफूहरु उत्साहित भएको बताए ।
कार्यक्रममा गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले निजी क्षेत्र र शैक्षिक क्षेत्र विल्कुलै अलग भएपनि यी दुईको सहकार्यले दुवै संस्थालाई फाइदा पुग्ने धारणा व्यक्त राखे । उद्योग क्षेत्रको सम्बृद्धि सरकारको मुख ताक्दैमा अथवा निजी क्षेत्रले मनोपोली गर्दैमा प्राप्त नहुने उल्लेख गर्दै अध्यक्ष महर्जनले भने, ‘उद्योग क्षेत्रका लागि आवश्यक पर्ने सीप, अनुभव क्षमताअभिवृद्धि शैक्षिक संस्थासँगको सहकार्यबाट प्राप्त हुन सक्छ । त्यसलै हामी सहकार्य गर्न आएका हौ ।’
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिकालाई सम्बृद्ध नगरपालिका बनाउन पर्यटन क्षेत्रलाई बढावा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘भारतको दार्जलिङमा भएको छुक छुके रेल जस्तै गोदावरी नगर क्षेत्र भित्र रेल चलाउन सक्ने हो भने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ ।’ यसैगरी कार्यक्रममा जनभावना क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रविन्स शर्माले शैक्षिक क्षेत्र र निजी क्षेत्रको सहकार्यले गोदावरी नगरपालिकालाई क्षेत्रलाई सम्बृद्ध बनाउन सकिने धारणा राखेका थिए ।