ललितपुर महानगर भवनमैै नेपाल बैंकको शाखा 

मंगलबार, साउन २६, २०७८

ललितपुर । नेपालको पुरानो र स्थापित बैंक नेपाल बैंकको शाखा पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा खोलिएको छ ।  सेवाग्राहीलाई सुविधा दिन र कामलाई झन्झटिलो हुन नदिन बैंकको शाखा कार्यालयमा नै राख्न महानगरले पहल गरेको हो । 
बैंक शाखा खोल्ने सम्बन्धी सम्झौता पत्रमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितपुरका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरेका थिए । 
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको जेठो नगरपालिकाको प्राङ्गणमा नेपालको जेठो बैंकको शाखा खोलिनु सुखद् भएको बताए ।  सुशासन कायम राख्नु महानगरको मुख्य उद्देश्य भएको बताउँदै उनले राजश्व बुझाउन आउने सेवाग्राहीलाई बैंकको यो शाखाले सहज बनाउने धारणा व्यक्त गरे ।
उपप्रमुख गीता सत्यालले महानगरमै बैंकको शाखा हुँदा सेवा थप प्रभावकारी हुने बताइन् । 
आर्थिक विकास समितिका संयोजक तथा वडा नं २१का वडा अध्यक्ष रविन्द्र महर्जन बैंकको शाखा महानगर भवनमै हुँदा सेवा प्रभावकारी हुने बताए । कामलाई व्यवस्थित र चुस्त बनाउन अब सहज हुने धारणा राखे । 


महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बैंकको शाखा स्थापनाले झन्झटिलो प्रक्रिया अन्त्य हुने विश्वास व्यक्त गरे । सेवाग्राहीको सहजताको लागि शाखा खोलिएको बताउँदै अब महानगरले दिने सेवा थप चुस्त हुने दाबी गरे । उनले भने , ‘अब हाम्रा सेवाग्राही भौचर बोकेर कोठै पिच्छेका टेबुल टेबुल पुग्नु पर्दैन, अब त्यस्तो अवस्था अन्त्य हुनुपर्छ ।’
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले कला, संस्कृतिले सम्पन्न नगरपालिकाले उद्यमशीलताको क्षेत्रमा पनि वैभव सिर्जना गर्नु पर्ने बताए । 
महानगरले उद्यम गर्न चाहनेहरुका लागि बैंकहरुसँग सहकार्य गरी सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न मध्यस्तताको भूमिका निर्वाह गर्नुपर्ने बताए । 
उनले नेपालको जेठो बैंकको शाखा जेठो नगरपालिकाको प्राङ्गणमा राख्न पाउँदा खुशी लागेको बताए । बैंकले प्रदान गर्ने सेवा जनमुखी हुने प्रतिबद्धता उनले व्यक्त गरे । ललितपुर महानगरपालिकाका विभिन्न महाशाखा, शाखा प्रमुखहरुको कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार