मौद्रिक नीति चुहिएको प्रति अर्थमन्त्री असन्तुष्ट 

मंगलबार, भदौ १, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले त्यो विषयलाई गम्भीर रूपमा लिन सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन् । मन्त्रालय वा  संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न उनले सचेत गराए । उनले भने, “तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस् ।” मन्त्री शर्माले पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको उल्लेख गर्दै प्रवक्ता र कार्यालयको वेबसाइटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन् । 

‘कर्मचारीले सामाजिक असमानताबारे पर्याप्त जानकारी लिनुपर्छ’ 

अर्थ मन्त्रालयका कर्मचारी विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरूले सामाजिक असमानताका बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्नेमा उनले जोड दिएका छन् ।  उनलेसामाजिक असमानता र असन्तुलनका बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम र बजेट बन्न नसक्ने भन्दै विशेष ध्यान दिन आग्रह गरे ।
आर्थिक वर्ष २०७७÷७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किए मात्र त्यसको अर्थ हुने स्पष्ट पारे । 
देशको अहिलेको आवश्यकता भनेको उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनलेसो अनुरूपको नीति र त्यसको कार्यान्वयनमा जोड दिए ।  उनले वैदेशिक रोजगारीबाट आर्जन गरेको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्ने भन्दै मन्त्री शर्माले त्यसमा कटिबद्ध भएर लाग्न निर्देशन दिए । उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना हुने र गरिबी घटाउने सकिने भएकाले सोही अनुसारको कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘संस्थानलाई नाफामा लैजानुपर्छ’

अर्को एक प्रसङ्गमा उनले घाटामा रहेका सार्वजनिक संस्थानका कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे । “सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ?”, प्रश्न गर्दै उनलेसंस्थानलाई कि त आत्मनिर्भर बनाएर नाफामा चलाउनुपर्ने कि तिनका बारेमा केही सोच्नुपर्ने बताए । जनतामा बैंकिङ पहुँच पु¥याउने सम्बन्धमा मन्त्री शर्माले पालिकामा बैंकका शाखा खोलेर मात्र नपुग्ने भन्दै तिनले जनतामा छिटोछरितो  र सरल ढङ्गले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरे । उनले हाल गाउँगाउँमा पुगेका बैंकहरूले मात्र सेवा दिन नभ्याएको अवस्था उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेका बैंकहरूले प्रत्येक पालिकामा शाखा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अर्थतन्त्रको दिगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । जलविद्युत् र सिमेन्ट उद्योगलाई व्यवस्थित गरेको खण्डमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्ने विचार व्यक्त गरे । समाजमा भएको असमानता घटाउने र सुशासन प्रवद्र्धन हुने खालको कार्यक्रम बनाउनुपर्ने सुझाव दिए । उनले भन्सार विन्दुमा आयातकर्ताले धेरै दिन कुर्नुपर्ने र ‘वेटिङ चार्ज’को धेरै तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

कार्यविधि संशोधनमा जोड 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तनसम्बन्धी कार्यविधि संशोधन गर्नुपर्नेमा जोड दिए । उनले सुधारका लागि गर्नुपर्ने काम सङ्कटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पूँजी–निक्षेप अनुपात  (सीसीडी रेसियो) खारेज गरिएको स्पष्ट पारे ।
सीसीडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकले हटाएको भन्दै उनले यससम्बन्धी बजारमा केही भ्रम रहेकाले यसमा स्पष्ट हुन आग्रह गरे । विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियामा रहेकाले त्यसलाई छिटो टुङ्गो लगाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याए । अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बीचमा मन्त्रालय र मातहतका निकायहरूले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए । उनले आगामी दिनमा परिणाम सुधार गर्ने गरी काम गर्न निर्देशनसमेत दिए । 
राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने, घाटामा रहेका निकायहरूलाई नाफामा लैजाने र बेरुजु घटाउने काममा विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले अर्थ मन्त्रालयबाट हुने कार्यविधि संशोधन लगायतका कामहरूमा कुनै अलमल नगरी टुङ्गो लगाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्रालय र मातहतका विभागले आ– आफ्नो प्रस्तुति गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार