फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

मंगलबार, भदौ ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । जसअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले बढेर १ हजार ४५० पुगेको छ ।आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर २ रुपैयाँले वृद्धि भएर ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।  मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निगमका अनुसार पेट्रोलमा कुल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको छ । 
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ । यसअघि निगमले असार ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार