सोसल मिडिया
Contact Us
युनिकोड
केही दिन अघि ललितपुरको भैँसीपाटीस्थित स्नेहाज केयर पुग्दा एक महिला जनावरको स्याहारसुसारमा व्यस्त थिइन् । यिनी कामदार हुनुपर्छ । मैले यस्तै ठानेर सोधेँ– स्नेहाजी कता हुनुहुन्छ ? उनी मतिर फर्किइन् र भनिन् ‘म नै हुँ ।’ मेरो अनुमान फेल खायो । म जिल्ल परेँ । अवाक भएँ । स्नेहाज केयर सेन्टरकी संस्थापक स्नेहा श्रेष्ठलाई मैले अलिक फरक रूपमा सोचेकी थिएँ । आफूलाई सम्हाल्दै स्नेहालाई नियालेँ । सामान्य ग्रामीण गृहिणीझैँ थिइन् । साधारण देखिने स्नेहाको कामबारे थोरबहुत पूर्वजानकारी लिएकी थिएँ । मैले कुराको मेलो सुरु गरँे । दिन कसरी बित्दैछन् ? उनी दिनभर स्नेहाज केयरमै व्यस्त हुन्छिन् । हिृवलचियरमा बसेका कुकुरलाई एकाबिहानै घुमाउँदा अनुभूति हुने खुशी उनका लागि अतुलनीय हुन्छ । केयर सेन्टरमा अहिले १सय ७० वटा कुकुर छन् । गाई र बाछाबाच्छी ३५ वटा छन् । स्नेहाले यी कुकुर र गाई सडकबाट उठाएर ल्याएकी हुन् । अचेल उनी ‘सिरियस’ कुकुर र गाईलाई मात्रै सेन्टरमा ल्याउँछिन् । त्यसो गर्नुको मुख्य कारण हो सिमित स्रोत साधन । घाउ खटिरा आएका कुकुरलाई उपचार गरेर समुदायमा नै छोडिदिन्छिन् । यसो गर्नुको मुख्य कारण उनले सुनाइन्, ‘समुदायलाई जनावरलाई माया गर्न सिकाउन यस्तो गरेँ,हिड्नै नसक्ने ह्वीलचियरमा राख्नुपर्नेलाई ल्याउँछौ ।’ तर पनि, स्नेहालाई स्नेहाज केयरलाई टुँडिखेलभन्दा ठूलो बनाउने धोको छ ।
एनिमल लभर ६ वर्षअघि स्नेहाले आफ्नै नामबाट स्नेहाज केयर्स सेन्टर खोलिन् । स्नेह अर्थात् प्रेम, माया । स्नेहाले जनावरलाई गरेको प्रेमको कुरा सुन्दा यस्तो पनि हुनसक्छ र, भन्ने लाग्छ । ‘यो कस्तो प्रेम हो’ जस्तो लाग्छ । उनीभित्र यो प्रेम कसरी जन्मियो स्नेहालाई नै थाहा छैन । ‘म त एनिमल लभर भएछु’ उनले यसो भनिरहँदा त्यत्तिबेलाको वातावरणमा एकैछिन सन्नाटा छायो । सन्नाटा तोडेर फेरि सोधेँ– स्नेहाजी सुनाउनुहोस् न तपाईं कसरी एनिमल लभर हुनुभयो ? त्यसो त उनी सुरुमा जनावरलाई माया गर्ने मान्छे थिइनन् । यसको अर्थ उनी जनावरलाई घृणा पनि गर्दिन थिइन् । कुकुरको रौं देखेर घिनाउँथिइन् । कुकुरप्रति यस्तो धारणा भएकी स्नेहालाई उनका जीवनसाथीले ‘ब्राण्डेड’ कुकुर पाल्ने सोख सुनाए । पारिवारिक सल्लाहपछि उनले कुकुर ल्याउन स्वीकृति दिइन् । स्नेहाका श्रीमान्ले एकैपटक दुईवटा कुकुर किनेर ल्याए । ती कुकुर उनले मोटर ग्यारेजमा राखिन् । कुकुरलाई उनी दुई छाक खान दिने गर्थिन् । स्याहार सुसारको तरिका थाहा थिएन । जति धेरै माया, स्याहार पायो त्यति छिटो कुकुर हुर्कन्छ भन्ने उनले बुझेकी थिइनन् । कुकुर ल्याएको १५ दिन मै एउटा म¥यो । कुकुर मरेपछि स्नेहा पछुताइन् । तर, त्यसलाई व्यक्त गरिनन् । कुकुरका बारेमा बुझ्दै जाँदा उनले थाहा पाइन्, कुकुरलाई त दिनको चारपाँच पटक खुवाउनुपर्ने रहेछ । बस्ने राम्रो व्यवस्था हुनुपर्ने रहेछ । बाँचेको कुकुर घरमा एक्लै हुन्थ्यो । स्नेहा बिहानै अफिस जान्थिन् । बेलुका घर फर्किदा एकदमै न्यास्रिएको जस्तो व्यवहार देखाउँथ्यो । उसको यस्तो स्वभाव देखेपछि कुकुरलाई पनि साथी चाहिने रहेछ भन्ने थाहा पाइन् । अनि अर्को कुकुर ल्याउने निर्णय गरिन् । दोस्रोपटक कुकुर किनेर ल्याएपछि स्नेहाले आफू साँच्चै जनावरप्रेमी भएको अनुभव गरिन् । उनी कुकुरसँग धेरै समय बिताउन थालिन् । मर्निङवाक जाँदा कुकुरसहित जान थालिन् । नौ बजेसम्म सुत्ने मान्छे कुकुरसँगै हिड्ने इच्छाका कारण बिहानै उठ्ने मन लाग्न थाल्यो । कुकुरलाई नहिँडाउँदा खुट्टा बिग्रन्छ भन्ने थाहा पाइन् । कुकुरलाई कसरी माया गर्न सकिन्छ भन्दै उनी गुगल सर्च गर्न थालिन् । अफिसबाट घर फर्किंदा स्नेहालाई लिन कुकुर गेटसम्र्म पुग्थ्यो । घरबाट अफिस जाँदा गेटसम्म पु¥याउन जान्थ्यो । घरभित्र लिएर जान्थ्यो । स्नेहाको खुब ख्याल गथ्र्यो त्यो कुकुरले ।
कुकुर मन नपराउने छिमेकी स्नेहाले ककुर पालेको उनका छिमेकीले मन पराएका थिएनन् । उनीहरू कुकुरका बारेमा गुनासो गर्थे । ‘कुकुरले धेरै भुक्यो, यसको काम छैन’ गनगन गर्थे । सानातिना निहुँमा उनको छिमेकीसँग मनमुटाव हुन्थ्यो । दिनहुँ छिमेकीले कुकुरको कम्प्लेन गर्थे । कुकुर उनका लागि परिवारको सदस्यजस्तै भएको थियो । त्यो दिनको घटना उनी कहिल्यै बिर्सन सक्दिनन् । सधैँ गेटमा लिन आउने कुकुर त्यो दिन लिन आएन । स्नेहा आत्तिन् । कता गयो, के भयो भन्ने भयो उनलाई । कता छ, के छ भन्दै खोज्न थालिन् उनी । आश्चर्य हुँदै उनी भित्र पस्दा कुकुर रगतमा लत्पतिएको अवस्थामा भेटिन् । उनले आँसु खसाल्दै वियोगान्त कुरा सुनाइन् । उनलाई त्यो कुकुरको यति धेरै माया थियो कि भनेर साध्य थिएन । छिटो निको होस् भन्दै भाकल गरिन् । उनको कामना पूरा भएन । परिणाम उल्टो आयो । जीवनमा आफ्ना बाबुको निधनमा पाँच दिन नुन बारेकी उनले कुकुरका लागि १३ दिन नुन खाइनन् । उनले कुकुरको मृत शरीर अस्पताल पु¥याइन् । चिकित्सकले विषका कारण मृत्यु भएको पुष्टि गरे । यो घटनापछि स्नेहा डिप्रेसनमा गएजस्तै भइन् । घरबाट बाहिर निस्कन छाडिन् यतिसम्म कि उनी अफिस जान छाडिन् । उनलाई कहिलेकाहीँ कुकर गाडेको ठाउँ खोतलौँ र मरेको कुकुरको शरीर आइसमा राखौंजस्तो पनि भयो । सधैँ निराश भएर बस्नुको पनि कुनै अर्थ थिएन । आफूलाई भुलाउन बाटोमा भेटिने कुकुरलाई बिस्कुट खुवाउन थालिन् । उनले एकदिन खुट्टा भाँचिएको कुकुर भेटिन् । शरीरमा घाउ भएर स्याउस्याउ कीरा परेको थियो । त्यो कुकुरलाई आफ्नै मोटरमा राखेर अस्पताल पु¥याइन् । कुकुर निको भयो । कुकुरलाई कहाँ छाड्ने ? उनको मनमा गम्भीर प्रश्न आयो गम्भीर प्रश्न आयो । सडकबाट उठाएको कुकुर सडकमै छोड्न मन भएन । दैनिक शुल्क तिरेर एउटा केनल क्लबमा राखिन् । एउटा कुकुरले त्यस्तो धेरै कुराको बारेमा उनी घोत्लिइन् । त्यही घोत्लाईको परिणाम हो, स्नेहाज केयर सेन्टर । यस्तो काम गर्नुको उद्देश्य कुकुर राख्नुमात्रै होइन, जनावरलाई माया गर्नुपर्छ भन्ने चेतना विकास गराउनु समेत थियो । ‘जनावरलाई माया नगर्नेलाई माया गर्ने बनाउन पनि मैले यो केयर खोलेकी हुँ’ उनले केयर खोल्नुको कारण सुनाइन् । यो केयर सेन्टरमा स्नेहाले १७ जनालाई रोजगारी दिएकी छन् । यो केयर खोल्दा उनको मनमा एउटा कुरामात्रै थियो । त्यो हो, सडकका बिमारी कुकुरलाई टन्न खान दिने र सफा राखिदिने । केयर सेन्टरमा उनको उद्देश्य फराकिलो बन्दै गएको छ । उनी अहिले जनावरको अधिकारका सन्दर्भमा वकालत गर्ने भएकी छिन् । स्नेहासँगको कुराकानी अझैं गहिरिदैं गयो । जनावरको स्याहारभावको कुरासँगसँगै उनले बुबाको कुरा सुनाइन् । १७ वर्षसम्म स्नेहाका बाबु पक्षघातका कारण ओछ्यान परे । त्यस्तो हुँदा पनि उनलाई जीवन कहिल्यै बोझ लागेन । भावुक हुँदै उनले भनिन्, ‘उहाँले कहिल्यै मर्ने इच्छा गर्नु भएन । हामीलाई पनि बुबा कहिल्यै घाँडो हुनुभएन ।’ स्नेहाको परिवारले बिरामीको सजिलोको लागि मात्रै सोच्यो । अपागंता भएका जनावर स्याहार गर्दा स्नेहाको मानसपटका बाबुको त्यो अवस्था आउँछ । यसको अर्थ उनी यसरी प्रष्ट पार्छिन्–जीनवप्रतिको माया र पीडा सबैको उस्तै त हो नि, व्यक्त गर्न सक्नु र नसक्नु फरक कुरा हो । उनका अशक्त कुकुर हिृवल चेयमा बस्छन्, घुम्छन् । कुकुरको हिृवलचेयर नेपालमा पाइँदैन । उनी विदेशबाट मगाउँछिन् । हिृवलचियरका कुकुरलाई मर्निङवाक गराउँछिन् । ढाडमा चोट लागेका कुकुर हिँड्न सक्दैनन् । खुट्टामा चोट लागेका कुकुरलाई उपचार गरेपछि हिँड्न सक्छन् । पक्षघात भएका लागि छुट्टै व्यवस्था छ ।
कुकुरसँगको प्रेम ‘कुकुरलाई कहिलेदेखि माया गर्ने भइसकेछु’ उनले आश्चर्य प्रकट गरिन् । विश्वासले माया पलाउने रहेछ । यो काममा लाग्ने पे्ररणाको स्रोत जारा नामको कुकुर हो, विश्वास भएपछि माया हुँदोरहेछ । जाराको अर्थ ? उनले भनिन्, ‘खासै अर्थ छैन’ त्यसो भए, ‘विनाअर्थको त्यो नाम, विनास्वार्थको तपाईंको माया, हो’ मैले भनेँ । उनले छोटो उत्तर दिइन्, ‘हो ।’ मलाई अर्को प्रश्न सोध्न मन लाग्यो । कुकुर कस्तो प्राणी हो ? स्नेहाले भनिन्, ‘इमानदार ।’ उनले आफ्नो यो उत्तरको पुष्टि गर्न खोजेजस्तो लाग्यो । मैले भनें, ‘के भन्न खोज्दै हुनुहुन्छ ?’ उनले ज्यास्मिनको बारेमा बताइन् । ज्यास्मिनले अमेरिकामा एउटा घर भेटिसकेको छ । विदेशी उसलाई ‘एडप्ट’ गर्न तयार छन् । स्नेहाले ज्यास्मिनलाई अमेरिका पठाइनन् । किन कि उनले उसलाई सेन्टरमा नै खुशी देखेकी छिन् । उसले सम्पूर्ण केयर सेन्टेरको हेरचाह गर्छ । विमारी गाई र कुकुरको ख्याल गर्छ । छाडेर हिड्ँदैन । स्नेहाको बुझाइमा जनावर बोल्नमात्रै नसक्ने हुन् । बाँकी सबै काम गर्छन् । जनवारको माया निःस्वार्थ हुन्छ । मान्छेजस्तो स्वार्थी हुँदैन । मान्छेलाई ९९ पटक सहयोग ग¥यो तर एकपटक सहयोग गरेन भने उसले ९९ लाई बिर्सन्छ । त्यो सहयोग नगरेको पटकलाई मात्रै सम्झन्छ । तर, जनावर त्यस्तो होइन, जनावरलाई एकपटक खान दिनूस्, त्यसपछि खान नदिनूस् त्यो जनावर पुच्छर हल्लाउँदै तपाइकै पछाडि आउँछ । कुनै पनि स्वार्थ छैन । कुकुरलाई राम्ररी बुझेकी स्नेहा भन्छिन्, ‘लोयल्टीमा तुलना गर्ने हो भने मान्छे भन्दा कुकुर धेरै माथि छ ।’
बाँदरलाई उसिनेको आलु...... लकडाउनले गर्दा पसल, व्यवसाय बन्द थिए, मानिसहरु घरभित्र ‘बन्दी’ जस्तै थिए, त्यत्तिबेला सडकमा हिँड्ने कुकुर, गाईबाच्छी भोकै पर्न थालेका थिए । त्यसैले स्नेहाले लकडाउन सुरु भए लगत्तै ती सामुदायिक कुकुर, बाँदर, गाईबाच्छीलाई ठाउँ ठाउँमा पुगेर खानेकुरा खुवाउन थालिन् । बाँदरका लागि उसिनेको आलु र चना सबेरै तयार भइसक्थ्यो । परेवाका लागि चामल बाक्थिन् । गाईबाच्छीका लागि बन्दकोभीलगायतका तरकारी हुन्थ्यो । कुकुरका लागि दाल, चामल, तरकारी, मान्छेले नखाएका मासुका टुक्रा हालेर खानेकुरा तयार हुन्थ्यो । यी खानेकुरा बोकेर स्नेहा विभिन्न ठाउँ पुग्थिन् । एक दिन भृकुटीमण्डपमा ‘कुकुर मरेको’ खबर पाइन् स्नेहाले । ती कुकुर खान नपाएर मरेका रहेछन् । ‘सबै ठाउँमा एकैपटक पुग्न संभव थिएन, जहाँ सामुदायिक कुकुरहरु धेरै छन् त्यहाँ पुग्थ्यौं ’लकडाउनका बेला स्नेहालाई भ्याइनभ्याई थियो ।
जनावरलाई माया गर्न सिकौं नेपालमा जनावरप्रति दुव्र्यवहार धेरै छ । वर्षमा एक दिन तामझामसहित जनावर पूजा गरेर मात्रै हुँदैन । प्रत्येक दिन जनावरलाई माया र सम्मान गर्ने व्यवहारको विकास गर्नुपर्ने बताउँछिन् स्नेहा । गाई राष्ट्रिय जनावर हो । यसको सम्मानमा के काम भयो त ? दूध दिएसम्म आफ्नोे भन्ने र दिन छाडे बाटोमा छाडिदिने । यस्तो गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपने उनी बताउँछिन् । दूध धेरै खान्छन् भन्दै बाटोमा ल्याएर छाड्नेहरू पनि छन्, त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँछिन् । केयर सेन्टर सञ्चालनका लागि सहयोग गर्ने केही दयालु मन छन् । त्यो बाहेक आफ्नै रुपैयाँ खर्च गर्छिन् उनी । स्नेहाको जनावरप्रेम देख्दा भन्न मन लाग्छ– माया मान्छे मान्छेमा मात्रै होइन, मान्छे र जनावर, जनावर र मान्छेबीच पनि हुँदोरहेछ । क्याबात् स्नेहा ।