सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ । क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक÷दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ । क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य ः देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन् । सभापति देउवाले भनेका छन्, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’ लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उहाँले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको छ । उनले भनेका छन, ‘संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।’ आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गरेका छन् । ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उले भनेका छन् । कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको जनाउँदै उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रणसमेत गरेका छन् । यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पु¥याउनुहुनेमा सभापति देउवाले विश्वास लिएका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरे । यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताए । “लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सवल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, पूर्वमहामन्त्री सिंहले भनेका छन् । उनलेसंविधानको रक्षा, सङ्घीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुद बनाउन सक्ने र देशलाई गति दिन सक्ने समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व अहिलेको पार्टीभित्रको आवश्यकता भएको बताए । नेता सिंहले कांग्रेस बलियो बन्दा मुलुकको लोकतन्त्र बलियो हुने जनाउँदै कांग्रेसलाई बलियो बनाउन नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गरेका छन् ।
‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी उनले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताएका हुन् । उनले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए । ‘कांग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्णरूपमा अन्तरआत्माको आवाज सुन्न घच्घच्याइरहेको छ’, डा.कोइरालाले भनेका छन् । कांग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ । डा.कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा कांग्रेस कम्युनिष्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गरेका छन् ।
भक्तपुरका सबै वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास
आजबाट सुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४औँ अधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएको छ । आज बिहानैदेखि पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्लाका चार नगरपालिकाका ३८ वडामा आज अधिवेशन सुरु भएको जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । उनले भने, “आजबाट कांग्रेसको महाधिवेशनको चरण सुरु भएको छ, त्यसअन्तर्गत आज भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा अधिवेशन सम्पन्न हँुदैछ, मैले सूर्यविनायक नगरपालिका–५ र मध्यपुरथिमि नगरपालिका–४ को वडा अधिवेशनको अवलोकन गर्दै वडा अधिवेशन सुरु हुनेछ, सबै वडामा सर्वसहमतिको नेतृत्व चयनको प्रयास जारी छ ।” जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मत गरिसकेको बताउँदै उहाँले बाँकीमा पनि नेतृत्व चयनमा सर्वसम्मतको प्रयास जारी रहेको जानकारी दिनुभयो । कांग्रेसले जिल्ला अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेललाई चयन गरेर अधिवेशन सुरु गरेको छ ।