सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए । सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भने । उनले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गरे । नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिए । प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए । उनले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गरे । उनले भने, ‘कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।’ कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । उनले अबको स्थानीय तहदेखि संघीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताए । कार्यक्रम कांग्रेसका वडासभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताए । भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा तीन हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन् ।
‘कांग्रेसमा समावेशी प्रतिनिधित्व सुनिश्चित’ नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रिया मार्फत सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनलेसबै तहका संरचनामा समाबेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पु¥याउँनेछ ।’ क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका विभिन्न वडामा अधिवेशन आरम्भ भएको कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र सबै वडाको अधिवेशन यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔं’ नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका हुन् । उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउँदै भनेका छन्, ‘कांग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुँदैछ ।’ महामन्त्री डा.कोइरालाले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयमिक भविष्य निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील साथीहरुलाई सुझबुझपूर्ण निर्णय गर्न पनि आग्रह गरेका छन् ।