सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर: ललितपुर महानगरको वडा नं ८स्थित बालकुमारी मन्दिर पुनर्निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पमा चर्किएको उक्त मन्दिर पुनर्निर्माणको काम शनिवार एक कार्यक्रम आयोजना गरि शुभारम्भ गरिएको हो । मन्दिर पुनर्निर्माणको अनुमानित लागत चार करोड १० लाख रहेको छ । मन्दिर पुनर्निर्माणको लागि ललितपुर महानगरले आर्थिक वर्ष २०७७÷२०७८को बजेटबाट ५० लाख विनियोजन गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले ललितपुर महानगरभित्रका भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताउँदै उपभोक्ता समिति मार्फत बनेका मन्दिरहरुको पुनर्निर्माण समयमै सम्पन्न भएको जानकारी दिए । बालकुमारी मन्दिर पुनर्निर्माण समितिका संयोजक खड्गलाल महर्जनले पुनर्निर्माणका लागि अहिले ५० लाख मात्रै संकलन भएको बताउँदै दाताहरुले मन्दिर पुनर्निर्माणका लागि सहयोग गर्न इच्छा व्यक्त गरेको जानकारी दिए । मन्दिर पुनर्निर्माण सुरु भएकै दिन पाँच लाख संकलन भएको समितिले जानकारी दिएको छ । कार्यक्रममा पूर्व सभासद् रामकृष्ण चित्रकारले ललितपुरमा बालकुमारी मन्दिर जस्तै अन्य धेरै मूल्यवान सम्पदा रहेको बताए । यी सम्पदा ललितपुरको पहिचान र गौरव भएको बताउँदै यिनका संरक्षण सबैको दायित्व भएको बताए । उनले मन्दिर पुनर्निर्माणका लागि एक लाख पाँच हजार सहयोग गरेका छन् । ज्यापु समाज ललितपुरका अध्यक्ष चन्द्र महर्जनले संस्थागत र व्यक्तिगत रुपमा मन्दिर पुनर्निर्माणलाई सहयोग गर्ने बताए । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले ,वडा नं ८ का वडा अध्यक्ष हेम महर्जन लगायतले मन्दिर पुनर्निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।