पोखरा नगर कांग्रेसमा कसको होला पल्लाभारी ?

बढ्दैछ चुनावी सरगर्मी
बुधबार, भदौ २३, २०७८

काठमाडौं : वडा अधिवेशनको समाप्तिसँगै भूगोलका दृष्टिले देशकै सबैभन्दा ठूला महानगरपालिका पोखरा कांग्रेस अधिवेशन मार्फत महानगरको नेतृत्व हाँक्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रमले व्यापकता भएको छ । भदौं २७ गते हुने नगरस्तरीय महाधिवेशनका लागि उम्मेदवारका आकांक्षीहरु मतदाता भेटघाटमा व्यस्त छन् । वडा अधिवेशनका क्रममा अधिकांश स्थानमा सर्वसम्मत भएपनि महानगरको नेतृत्वको लागि भने निर्वाचन हुने पक्कापक्की जस्तै छ । महानगरको नेतृत्व हाँक्नका लागि हालसम्म नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका गंगाधर पराजुली, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का अध्यक्षद्धय क्रमशः रामराज लामिछाने, मोहन बाँस्तोला, कांग्रेसका स्थानीय युवा नेता मिलन तिवारी र पत्रकारितामा नै सक्रिय रहेकी ज्योति हमालले पोखरा महानगरको नेतृत्वमा दाबी गरेका छन् । हालसम्म ६ जनाले महानगरको सभापतिको उम्मेदवारी सार्वजनिक गरेका छन् । उम्मेदवारी सार्वजनिक गर्नेहरुमा बहालवाला वडाअध्यक्षदेखि राष्ट्रियस्तरको जिम्मेवारी सम्हालिसेका व्यक्तित्वहरु छन् । अहिलेसम्म ६ जनाले कांग्रेस पोखरा महानगरको नेतृत्वमा जाने घोषणा गरेपनि पत्रकारिताबाट राजनीतिमा होमिएका गंगाधर पराजुली बलियो दाबेदार रहेको कांग्रेस वृत्तमा चर्चा छ । १२ वर्षको उमेरमा अध्ययनरत पंचकोसी निमाविमा नेपाल विद्यार्थी संघको स्कुल एकाइ समितिको सचिव बनेका पराजुली नेपाल विद्यार्थीसंघ, शिक्षक संघ, नेपाल पत्रकार महासंघ, प्रेस युनियन, सूचना तथा संचार मन्त्रालय अन्तर्गत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । पोखरा महानगर समितिका सभापतिका बलिया उम्मेदवार पराजुलीले आफू कुनै गुट उपगुटको उमेदवार नभएको बताउँदै नेपाली कांग्रेसको उम्मेदवार भएको बताए । विगतमा पनि आफू संलग्न रहेको संस्था र पदको नविन शैलीका काम गरेर गरिमा बढाएको बताउँदै उनले शब्दपाटीसँग भने, ‘ मलाई नेतृत्वदायी पदमा बसेर काम गर्न मन लाग्छ, यो उम्मेदवारीसँगसँगै विशेष योजना सहित आएको छु । ’ गंगामात्रै होइन, अर्का आकांक्षी मिलन तवारी पनि आफू नेतृत्वमा पुग्ने विश्वास राख्छन् । लामो समयदेखि लोकतन्त्र, प्रजातन्त्र र कांग्रेसको लागि अविचलित भएर लाग्नु नै विजयको आधार भएको तिवारीको भनाई छ । पोखरा उद्योग वाणिज्य संघमा महासचिव समेत रहेका सुरेन्द्रमान बिजुक्छेकोे व्यवसायिक क्षेत्रका कांग्रेस कार्यकर्ताबीच लोकप्रिय रहेको बताइन्छ । ज्योति हमाल पोखरी नगरसभापतिको आफू दाबेदार भएको बताउँछिन् । उनले उम्मेदवारी सार्वजनिक गर्दै गर्दा प्रदेश सरकारमा महिला सहभागितालाई उपेक्षा गरिएकाले आफू उम्मेदवार भएको बताएकी थिइन् । अर्का आकांक्षीद्धय लामिछाने र बाँस्तोला बहालवाला वडाअध्यक्षका रुपमा कार्यरत छन् । दुबै जनाले आफूलाई बलियो उम्मेदवार भएको दाबी गर्छन् । पूर्वमा तनहुँको कोत्रेदेखि पश्चिमामा पर्वत र स्याङजाको पञ्चासेसम्म फैलिएको महानगरमा कांग्रेसका १४ हजारभन्दा बढी क्रियाशील सदस्य छन् । जुन संख्याबाट निर्वाचित भएका करीब एक हजार चार सय क्षेत्रीय प्रतिनिधिले महानगरको कांग्रेस नेतृत्व चुन्ने छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार