सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । अनिश्चितकालीन बन्द गरिएको सुनाकोठीको सडक मंगलवार देखि खुल्ने भएको छ । ललितपुर महानगरपालिका वडा नं. २६ र २७ ले संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत गत १६ गते देखि बन्द भएको सडक खुल्ने जानकारी दिएका छन् । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गरेको र ठेकेदारले समेत सडक पिच गर्न निर्माण सामग्री सडकमा थुपार्न थालेपछि सुनाकोठी संघर्ष समितिका सहमतिमा वडा कार्यालयले बन्द स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् । दुईवटा वडा कार्यालयसहित संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा तिहार लगत्तै सडक पिचको कार्य सुचारु नभएमा ‘कडा बन्द’ को कार्यक्रम गर्ने समेत उल्लेख छ । विज्ञप्ति सार्वजनिक हुनुअघि संघर्ष समितिको आह्वानमा सुनाकोठीका स्थानीय बासिन्दाले धिमे बाजा बजाउँदै, नारा लगाउँदै सडक बन्द गरएका थिए । बिहान १० देखि साँझ ५ बजेसम्म सवारी बन्द गरेको स्थानीय निरज महर्जनले बताए । ‘हामीले बिहान १० देखि सडक अवरूद्ध ग¥यौं । पाँच बजे खोल्यौं । हाम्रो आन्दोलन किन भएको भनेर कसैले पनि हामीलाई सोध्न आएनन’, उनले भने, ‘चाडवाड आइरहेकाले आन्दोलन कसरी अघि बढाउने भनेर स्थानीयबीच छलफल चलिरहेको छ ।’ स्थानीयले धिमे बाजा र विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर सुनाकोठीको चिवाल गेटदेखि चौतारासम्म ¥याली निकालेका थिए । स्थानीय आन्दोलनमा उत्रेपछि आफूले बाटो बनाउने ठेकेदार कम्पनीका प्रतिनिधिलाई फोनमार्फत् छिटोभन्दा छिटो काम गर्न भनेको वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए । ‘शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि रमेशलाई मैले सम्पर्क गरेको थिएँ’ वडाध्यक्ष महर्जजनले भने, ‘उनले ग्राभेल लिन जाँदा खानी बन्द भएकाले आजदेखि काम गर्न नसकेको बताए । मैले खानी नखुल्ने बेलासम्म सडकमा ग्रेडिङ वाल लगाउनु भनेको छु । कम्पनीले भोलि मान्छे पठाउँछु भनेको छ । के गर्छ हेरौं ।’ कम्पनीले सोमबार सुनाकोठी क्षेत्रमा मेसिन ल्याएर राखेर ट्याङकर पानीले सडक भिजाएको थियो । शैलुङ कन्स्ट्रक्सनले बेलामा काम नसक्दा यो क्षेत्रमा वातावरण नै प्रदूषित हुने गरी धुलो भएको, सडक राम्रो नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएको थिए । यो बाटो कान्ति लोकपथ अन्तर्गत हो । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ । ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता छ । अहिले उक्त बाटो ८ मिटर चौडाको हो । ठेकेदारले यसअघि दसैंसम्ममा बाटो पिच गरेर आवागमन सहज पारिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । बाटो बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सन कम्पनी हो । उक्त कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । ठेकेदार अधिकारीले बाटो नबनाएपछि पहिले पनि यहाँ आन्दोलन भएको थियो । ‘असारमै एक दुई दिन बाटो बन्द ग¥यौं । त्यसपछि बाटो कालोपत्रे गर्ने सहमति भएको थियो । ठेकेदारले देखावटीका लागि केही दिन काम ग¥यो’, सुनाकोठीका स्थानीय सुमन महर्जनले भने । वडाध्यक्ष र प्रदेशसभा सांसद सम्मिलित बैठकले दबाव दिएपछि शैलुङ कम्पनीले असोज १ गतेदेखि बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएको थियो । तर, वचन पूरा भएन । ‘ठेकेदारले काम छाडिहाल्यो, त्यसपछि वायु प्रदूषण बढ्यो, हामीले वायु प्रदूषण रोक्न पैसा उठाएर बाटोमा पानी हाल्ने काम गरिरह्यौं’, नमोवुद्ध स्टोरका सञ्चालक राजन पराजुलीले भने, ‘यसरी कति दिन पानी हालेर बस्ने ? निर्णायक आन्दोलन नै गर्नुपर्ने भएकाले हामी बाटो बन्द गर्न वाध्य भएका हौं ।’ तत्कालै २२ मिटर फराकिलो पार्न नसकिए पनि ८ मिटर चौडामा रहेको अहिलेको बाटोलाई मर्मत गरेर जनजीवन सहज पार्न ठेकेदार कम्पनीलाई अनुरोध गर्दा गर्दा आफूहरु आजित भएको वडाध्यक्ष महर्जनले बताए । ‘यो बाटोमा धुलोको कारण स्थानीय बिरामी नै भएका छन्, कोभिडको बेला श्वासप्रश्वासमा समस्या छ, यो धुलोकै कारण थप क्षति पनि भइरहेको छ’ सुनाकोठी चौताराका कुमार कार्कीले भने, ‘यसको जिम्मेवारी कसले लिने ?’ धुलो कम गर्नका लागि वडातर्फबाट दिनहुँ दुई ट्यांकर पानी हाल्न चार हजार खर्च गरिरहेको थियो । बजेट अभावले दैनिक पानी हाल्ने खर्च धान्न वडाबाट सम्भव नरहेको उनको भनाइ छ । ‘ठेक्का लिनेबेला हामीलाई सोधिन्न, सबै काम माथिबाट हुन्छ, यहाँका जनतालाई मैले के भन्नु?’ वडाध्यक्ष महर्जनले प्रश्न गरे ।