सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेपछि दृश्य सम्पादक तथा फिल्म निर्देशक प्रविन श्रेष्ठको कम्मर मुनिको भाग चल्दैन । सार्वजनिक सवारी साधन अपाङ्गतामैत्री नहुँदा ह्वीलचियर प्रयोग गर्ने प्रविनलाई एक ठाउँबाट अर्को ठाउँ जानआउन निकै कठिन हुन्थ्यो । ललितपुर महानगरले अपाङ्गतामैत्री सवारीसाधन ल्याएपछि उनले अचेल त्यस्तो कठिनाई भोग्नु परेको छैन । काठमाडौंको बालुवाटार बस्ने प्रविन अस्पताल जाँदाआउँदा, महत्वपूर्ण कार्यक्रममा सहभागी हुन जाँदा उक्त साधनको प्रयोग गर्छन् । जहिलेदेखि उनले अपाङ्गतामैत्री उक्त साधनको प्रयोग गर्न थाले त्यो दिनदेखि उनको यात्रा सहज भएको छ । प्रविनकी जीवनसंगिनी सलोनी श्रेष्ठले ट्याक्सी चढेर अस्पताल आउँदा पनि प्रविनले धेरै सास्ती भोग्नुपरेको बताइन् । महानगरले अपाङ्गता भएकाको र उनीहरुको परिवारका सदस्यको समस्या बुझेर यो ट्याक्सी संचालन गरेकोमा धन्यवाद दिइन् । ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवनपद्धतिकेन्द्र जापानसँग सहकार्य गरेर उक्त साधन नेपाल भित्राएको हो । अपाङ्गतामैत्री उक्त साधन संचालन गर्ने ललितपुर महानगरपालिका सम्भवत पहिलो स्थानीय तह हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएकाहरुको सहजताको लागि यस्तो साधन संचालनमा ल्याएको बताए । ट्याक्सीमा भएको स्वीच थिचेपछि ह्वीलचियरलाई उठाएर भित्री पु¥याइन्छ । ट्याक्सीमा तीनवटा ह्वीलचियर अटाउँछ । ट्याक्सीमा भएको स्वीच अन अफ गर्न, ह्वीलचियरलाई ट्याक्सीभित्र पु¥याउन चालक बाबुकाजी महर्जन अपाङ्गता भएकाहरुको सहयोगी बन्छन् । सहयोग गर्न पाउँदा निकै खुशी हुन्छन् उनी । स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले ललितपुर महानगरपालिका अपाङ्गता भएकाहरुप्रति संवेदनशील भएको बताए ।