सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ : कोभिड—१९ को कारणले पर्यटन क्षेत्र शून्य भएपनि आगामी दिनमा पर्यटक भित्र्याउनका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि सिदिङ्वा गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत क्षेत्र हो । पूर्वको गोसाइँकुण्डको नामलेसमेत परिचित तिम्बुङ पोखरी चार हजार चार सय ८० मिटरको उचाइमा छ । निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि सिदिङ्वा गाउँपालिकाले ५५ लाख रुपैयाँको लागतमा पर्यटक आवास घर निर्माण गरेको हो । सिदिङ्वा गाउँपालिकाका प्रवक्ता प्रकाश राईका अनुसार पर्यटन मन्त्रालयबाट विनियोजित ५० लाख रुपैयाँ र गाउँपालिकाको पाँच लाखसमेत कुल ५५ लाख रुपैयाँ खर्च गरेर आवास घरसहितका संरचना निर्माण गरिएको छ । करिब तीन हजार आठ सय मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको प्रवक्ता राईले जानकारी दिए । उनका अनुसार करिब ४५ जना अटाउन सक्ने क्षमताको पर्यटक आवास घर, भान्सा घर र शौचालय निर्माण गरिएको छ । उक्त पर्यटक आवास घर निर्माण सम्पन्न भएसँगै गाउँपालिकाले भाडामा दिएर सञ्चालनको तयारी गरेको छ । ठेक्का (बोलपत्र) प्रक्रियामार्फत आवास घर वार्षिक ६२ हजार रुपैयाँमा भाडामा लगाएको र अब दसैँ तिहार अघि नै सञ्चालनमा आउने पनि प्रवक्ता राईले बताए । पर्यटक घर सञ्चालनमा आएपछि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकले खानेबस्ने सुविधा पाउने छन् । हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रूपमा सो क्षेत्रमा रहेको चौंरी गोठहरुलाई सदुपयोग गर्ने गरेका थिए । कालिखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई कम्तिमा तीन दिन लाग्ने हुँदा सो क्षेत्रमा रहेका सीमित चौंरी गोठहरुमा सास्ती सहँदै बास बसेर पर्यटकले आफ्नो भ्रमण सिध्याएर फर्कनुपर्ने अवस्था थियो । अब पर्यटक आवास घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा हुने भएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताए । उपाध्यक्ष ताम्लिङका अनुसार पर्यटक आउजाउ गर्नलाई अहिले तिम्बुङ पोखरी जाने पदमार्गको पनि स्तरोन्नति गरिएको छ । विगत दुई वर्षयता पर्यटन मन्त्रालयकै सहयोगमा पर्यटक आवास घरसहित तिम्बङ पोखरीको सौन्दर्यकरण, पदमार्ग स्तरोन्नतिको कार्य गरिएको ताम्लिङले बताए । मन्त्रालयको सहयोग र गाउँपालिकासमेतको साझेदारीमा पर्यटकलाई आराम लिनका लागि पदमार्गको ठाउँ–ठाउँमा विश्रामस्थलसमेत निर्माण गरिएको उनले जानकारी दिए । तिम्बुङ पोखरी क्षेत्रमा धार्मिक आस्थाका हिसाबलेसमेत हरेक वर्ष नाग पञ्चमीको समयमा उल्लेख्य रुपमा आन्तरिक पर्यटकहरु पोखरीको भ्रमण तथा दर्शनमा पुग्ने गरेका छन् । योसँगै सुन्दर तथा मनमोहक दृष्य, जडीबुटी, चौंरी पालन, रेडपान्डा लगायतको अध्ययन अवलोकन गर्नलाई आन्तरिक र सीमित सङ्ख्यामा विदेशी पर्यटक समेतले तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गर्ने गरेका बताइएको छ ।