सोसल मिडिया
Contact Us
युनिकोड
पाल्पा । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको छ । पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कक्षा १-३, ५-७, ९-११ र २-४, ६-८, १०-१२ बार अनुसार कक्षा सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा कोरोना भाइर सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै साताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रूपमा खोली बारअनुसार कक्षा सञ्चालन गर्न थालिएको हो । पाल्पाको माथागढी गाउँपालिकाले भदौ २८ गतेबाट भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी कारण विद्यालय बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गरिए पनि समस्या देखिएको थियो । गाउँपालिकाभित्र पाँचजना मात्र कोरोनाको सक्रिय सङ्क्रमित रहेपछि गाउँपालिकाले स्मार्ट लकडाउनअनुसार नै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । उनका अनुसार डीसीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको बैठकको निर्णयबमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रूपमा पालना गर्ने गरी विद्यालय खोलिने भएका छन् । कोरोना भाइस सङ्क्रमण देखिएको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थी विद्यालयमा उपस्थिति नहुने र स्वास्थ्य संस्थाहरूमा सम्पर्कमा रहन गाउँपालिकाले अनुरोध गरेको छ । पाल्पाको रम्भा, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । रम्भा गाउँपालिकाले आइतबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कम विद्यार्थीहरू हुने विद्यालयमा आइतबारदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा आलोपालोमा कक्षा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । कक्षा सञ्चालन हुनुभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गराउन शिक्षकबाट कार्यान्वयन गराउने अध्यक्षको भनाइ छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा कोरोना सङ्क्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्ने सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य मापदण्डको पूर्ण सतर्कता र सजगताका अवलम्बन गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताए । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रूपमा कक्षा सञ्चालन गर्ने तयारी भएको उनले बताए । रामपुर–१० स्थित जनकल्याण उच्च माविका शिक्षक दामोदर तिमिल्सिनाले पठनपाठन सञ्चालनका लागि नगरपालिकाबाट निर्देशन आएको छ भने । स्वास्थ्य मापदण्डको पालना गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि बिहान, दिउँसो र साँझमा पालैपालो पढाउने गरिएमा अबदेखि नियमितरूपमा पठनपाठन गरिने तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोल्ने तयारी अन्तिम चरण पुगेका छन् । जिल्लाका अधिकांश सरकारी विद्यालय खोल्ने तयारी भइरहे पनि संस्थागत विद्यालयले अनलाइन माध्यमबाट परीक्षासमेत सकेका छन् । परीक्षा सम्पन्न गरी हालसम्मको महिनावारी शिक्षण शुल्कसमेत उठाएको अभिभावकको गुनोसो छ । विद्यालय खोलिन थालेपछि विद्यार्थीमा उत्साहसँगै कोरोना सङ्क्रमणको त्रासले निराशा पनि थोपारिएको छ ।
भेरीका विद्यालय आइतबारदेखि खुल्ने जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखाप्रमुख अमृतबहादुर पुनले बताए । भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले बताए । कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधान राखिएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षासमेत यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ ।