अझै पनि बिरामीलाई हेलिकोप्टरकै भर !

आइतबार, भदौ २७, २०७८

काभ्रेपलाञ्चोक। महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडाँै लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । उनका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन । “नि:शुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनले हालसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिए । उनले भने, “लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ ।” भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दु:खेसो गर्छन् । हेलिकोप्टरबाट बिरामी/गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको छ । 


 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार