दाङमा काँग्रेसको नगर अधिवेशनको सरगर्मी बढ्याे

तुलसीपुर उपमहानगरपालिकामा तीन जना र घोराही उपमहानगरपालिकामा दुई जना दौडधुपमा
शनिबार, असोज २, २०७८

दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ । यही असोज ९ गते तय भएको गाउँ-नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ । यसैबीच जिल्लाका दुई उपमहानगरपालिकामा अधिवेशनबाट नेतृत्व लिन युवा दौडधुपमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नगरसभापतिका लागि  तीन जना र घोराही उपमहानगरपालिकामा दुई जना आकाङ्क्षी देखिएका छन् । सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्की चुनावी मैदानमा देखिएका छन् । तीनै जना युवा आकाङ्क्षीले चुनावी क्रियाकलाप बढाएका छन् । सुरेश हमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरीको समर्थन रहेको बताइन्छ भने अनिल कार्कीलाई नेपाली काँग्रेस दाङका पूर्वसभापति तथा पूर्वसांसद गेहेन्द्र गिरीको पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । दुवै खेमाले उम्मेदवार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकाङ्क्षी शोभाकर सापकोटाले भने काँग्रेसको स्वतन्त्ररूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ ।
यद्यपी सुरेश हमाल र शोभाकर सापकोटामध्ये एक उम्मेद्वार मात्रै निर्वाचनमा उठ्ने अनुमान गरिएको छ । सुरेश हमाल महाधिवेशन प्रतिनिधिका रूपमा टिममा पर्नुभएन भने सो खेमाले हमाललाई नगर सभापतिमा प्रस्ताव गर्ने बताइएको छ । शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने पनि दीपक गिरी खेमाका एक नेताले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ बाट सर्वसम्मतरूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा काँग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकाङ्क्षी हुन् ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक सङ्घसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका छन् । लायन्स क्लब, रोटरी क्लब तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका वर्तमान सल्लाहकार हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिन्ने गरिन्छ ।
सुरेश हमालसँगै विभिन्न व्यावसायिक क्षेत्रका सहयात्री शोभाकर सापकोटा पनि नगर सभापतिकै उम्मेद्वारका आकाङ्क्षी देखिएका छन् । हमाललाई महाधिवेशन प्रतिनिधि बनाएर नगरमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि लागिपरेका सापकोटा दीपक गिरीको टिमबाट अन्ततः नगर सभापतिको उम्मेदवार बन्न नसकेपछि स्वतन्त्ररूपमा भए पनि नगरमै लड्ने तयारीमा छन् ।
सापकोटा विद्यार्थीकालदेखि नै नेविसङ्घको राजनीतिमा आबद्ध थिए । उनी राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका उहाँले नेविसङ्घ क्षेत्र नं ४ को क्षेत्रीय सचिव तथा नेपाली काँग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारी पनि बहन गरिसकेका थिए ।
यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसङ्घकोतर्फबाट स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकाङ्क्षी हुन् । कार्की तुलसीपुर– ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । युवामाँझ लोकप्रिय छवि बनाएका कार्की नेपाली काँग्रेस दाङका पूर्वसभापति तथा गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुनेमध्येका एक युवा हुन् ।
निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै युवा नेताहरूले आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नगर अधिवेशनमा घोराही नगर सभापतिका लागि आकाङ्क्षी युवा नेता रमेश पाण्डे र तिलक रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै आकाङ्क्षी फरकफरक समयको अन्तरालमा विद्यार्थी राजनीतिबाटै माथि आउनुभएको हो । नगर सभापतिका प्रत्यासी रमेश पाण्डे नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राजनीतिमा जोडिएका नेताका रूपमा पनि चिनिन्छन् ।
पाण्डेको उम्मेदवारीलाई पूर्वजिल्ला सभापति वीरकेशरी गौतम र काँग्रेस केन्द्रीय सदस्य अनिता देवकोटा खेमाको समर्थन रहेको बताइएको छ । यद्यपि, उनले आफूलाई नेपाली काँग्रेसको नगर सभापतिका रूपमा मात्र उभ्याएको बताइन्छ ।
नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट नेपाली कांँग्रेसको राजनीतिमा प्रवेश गरेका पाण्डे घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष हुन् ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा २०५० सालदेखि नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गरेका पाण्डेको पारिवारिकरूपमा राजनीतिमा फरक पृष्ठभूमि भए पनि पाण्डे सानैदेखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा संलग्न थिए । लामो समयदेखि राजनीतिमा सक्रिय उनी पनि युवा पुस्तामाँझ लोकप्रिय छन् ।
“लामो समयदेखि राजनीतिमा लागे पनि पदीय हिसाबले कमै जिम्मेवारीमा बसेको छु” उनले भने, “तर पदीय जिम्मेवारीमा नभए पनि नेपाल विद्यार्थी सङ्घ र नेपाली काँग्रेसको लागि निरन्तररूपमा खटेर काम गर्दै आएको छु ।”
पाण्डे नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भने नगर सभापतिमा पराजित भएका थिए । करिब छ वर्षपछि पुनः १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको उहाँले बताउनुभयो । तीन दशक लामो विद्यार्थी राजनीतिमा सक्रिय उहाँलाई पार्टीको जिम्मेवारीमा बसेर काम गर्ने इच्छा भएको बताए ।
नगर सभापतिकै अर्का आकाङ्क्षी हुन् तिलक रावत । रावत कलिलो उमेरमै पारिवारिक राजनीतिका कारण सक्रिय राजनीतिमा जोडिन पुगेका हुन् । तिलकका बुवा अर्जुन रावत विसं २०५४ को स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाको साविक दुविडाँडा गाविसको वडाध्यक्षमा उम्मेदवार थिए । द्वन्द्वकालमै माओवादीबाट उनको परिवार विस्थापित भएर घोराही झ¥यो । तात्कालीन माओवादी सशस्त्र द्वन्द्वमा रोल्पामा सक्रिय राजनीति गर्दै आएका रावत परिवार माओवादीकै कारण विस्थापित भएर दाङ आएको हो । रावत पनि आफ्नो परिवारलाई राजनीतिक द्वन्द्वपीडितको परिवारका रूपमा प्रस्ट्याउँछन् । घोराहीको रतनपुरमा बसोबास गर्दै आएसँगै तिलकले नेपाल विद्यार्थी सङ्घमा रहेर सक्रिय राजनीति सुरु गरेका हुन् ।
पद्मोदय पब्लिक माविको इकाइ सचिवको भूमिकामा रहेर काम गरेका उहाँ विसं २०६९ मा नेपाल विद्यार्थी सङ्घको क्षेत्रीय सभापति भए । रावत अहिले नगर सभापतिको प्रत्यासी बन्नु युवाका लागि उत्साहको विषय भएको युवा राजनीतिक बृत्तमा चर्चा छ ।
विद्यार्थी राजनीतिकै क्रममा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको साथ रहेको बताउने रावतलाई नगर सभापतिका लागि क्षेत्रीय सभापति भूपबहादुर खड्का र काँग्रेस दाङका नेता राजु खनालको समर्थन रहेको बताइन्छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार