सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए । विश्व बैंकको सहयोगमा हाल नेपालमा दुई दर्जन बढी विभिन्न आयोजना सञ्चालित छन् । उनले विगतमा नेपालको कार्यक्षेत्र मात्र हेर्ने गरी विश्व बैंकको कार्यालय स्थापना भएकामा गत वर्षदेखि नेपाल, भूटान र श्रीलङ्काको समेत कार्यक्षेत्र हेर्ने गरी उपक्षेत्रीय कार्यालयमा स्तरोन्नति गरिएकामा खुसी व्यक्त गरेका थिए । प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले जलवायु परिर्वतनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेको समेत अवगत गराएका थिए ।
महामारी नियन्त्रणका लागि थप सहयोग जरुरी : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि थप सहयोग उपलब्ध गराइदिन विश्व बैंकलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् । “विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ”, उनले भने, “कोभिड–१९ सङ्क्रमणको समयमा बैंकले आपत्कालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।” मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए । “सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ”, उनले भने । नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे । भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको आगामी संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे । भेटमा बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे । उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे । बैंकको प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको अर्थमनत्रालयले जनाएको छ ।
विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण
विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन् । यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ । सन् २०२६ सम्म नेपालीको विद्युत् खपत क्षमता ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्यका साथ एडीबीले नेपालको वितरण प्रणालीको क्षमता वृद्धि, सुधार तथा आधुनिकीकरणलाई जोड दिएको बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले जानकारी दिए । बैंकले मनिलाबाट जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ऋण सहयोगबाट नेपालगञ्ज कोहलपुर १३२ केभी क्षमताको प्रसारण लाइन, चोभार लगनखेल प्रसारण लाइन र दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्ज सवस्टेशनको क्षमता वृद्धिमा खर्च हुनेछ ।