न्यास्रोको स्पष्टिकरण

कथा
बुधबार, असोज ६, २०७८

कफी गफ चलिरहेको थियो । उसले मौनता तोड्दै भनी—ओई हेर्न न मलाई याटिट्युट देखाउने मान्छे पटक्कै मन पर्दैन । आवरणमा शान्त तलाउ जस्तै देखिए पनि उभित्र समुद्रका छाल जस्तै आक्रोश, विमत्ति, असन्तोष तछाडँमछाडँ गरिरहेका थिए । निशा र प्रतिमा त्यो साँझ धेरैपछि कफी पिउन बागबजारको एउटा क्याफेमा भेट भएका थिए । दुबैका लागि गर्नुपर्ने कुरा र विषय थुप्रै थिए । 
निशा र प्रतिमा खुबै मिल्ने साथी थिए । स्कुलदेखिका साथी । कलेजसँगै पढे । जागिरको बाटोले उनीहरुलाई एउटै गन्तव्यमा पु¥याएन । तलब दुई फरक संस्थाबाट खाएपनि उनीहरु दुबै जना एका अर्को काम, साथी, हाकिम सबैसँग परिचित थिए । प्रत्येक भेटमा उनीहरुको गफको विषय अफिस नै हुन्थ्यो । त्यहाँभित्रका असहमति हुन्थे । उल्झन रहन्थे । सफलता कुरा गर्थे  । दुबै निजी क्षेत्रका कर्मचारी थिए ।  टिपटप हुनुपर्ने, गेटअप सधैं ठीक हुनुपर्ने, अनुहारमा मन्दमुस्कान सधै हुनुपर्ने, समय भन्दा अघि नै अफिस पुग्नु पर्ने, ओभर टाइम नपाएपनि कार्यालय समयभन्दा धेरै काम गर्नुपर्ने यस्तै यस्तै थियो उनीहरुको दैनिकी । क्यापिचिनोको फिजलाई चम्चामा लिएर सुरुप  पार्दै निशाले प्रतिमालाई भनी — ओइ हेर्न न केदार सर बिरामी भएर अफिस नआएको १५ दिन भयो तर ..... ।  निशाले वाक्य टुङग्याएकै थिइन, प्रतिमाले भनी —के भएछ, ठूलै रोग लागेछ कि क्या हो । निशालाई केदार सरलाई लागेको रोगले भन्दा पनि उनले पठाएको इमेलले झड्का दिइरहेको थियो । शुक्रबार साँझ ल्यापटप बन्द गरेकी निशाले शनिबार र आइतबार ल्यापटप खोलिन । सोमबार बिहान अफिस पुगेर इमेल हेर्दा त केदार सरको मेल भेटी उसले । 
इमेलमा एउटा ‘वर्ड फाइल’ अट्याच थियो । इमेलमा फाइल अट्याच भएपनि केदार सरसँग निशा अट्याच थिइन् ।  जब उसले त्यो ‘वर्ड डक्युमेन्ट’ पढ्न थालि त्यसपछि उसले केदार सरको आफूप्रतिको धारणालाई महसुश गरी । उसलाई असजिलो महसुश भइरहेको थियो ।  इमेलको कुरा गर्दै गर्दा असहज देखिएकी निशालाई प्रतिमाले विषयलाई सामान्य रुपमा लिन भन्दै थिई । अरुलाई तेरो न्यास्रो लाग्छ भने त्यसमा तेरो के को दोष —उसले भनी । निशाले केही सहज होस् भनेर त्यो मेल पढ्न भनेकी थिइ प्रतिमाले । साथीको आग्रहलाई उनसले नकार्न सकिन । निशाले मोवाइलमा लिएको स्क्रीन सटबाट केदार सरको लेखोट पढेर सुनाई । 

न्यास्रोको स्पष्टिकरण

प्यारी निशा । तिमीलाई अचम्म लाग्ला । बिरामी मान्छेलाई के त्यस्तो प¥यो होला र यति लामो इमेल लेख्यो भनेर । तिमीले जे सोचे पनि आज मलाई त्यसको कुनै मतलब छैन । 
मैले आज तिमीलाई जे लेखिरहेको छु त्यसको विषय हो, न्यास्रो स्पष्टिकरण । हो मैले अफिसमा धेरैलाई धेरै पटक स्पष्टिकरण सोधेको छु । मेरो सम्झनामा भएसम्म तिमीलाई मैले जम्माजम्मी दुई पटक मात्रै स्पष्टिकरण साधेँ । यो सहित मैले तिमीलाई सोधेको स्पष्टिकरण तेस्रो हुनेछ । अफिसका स्पष्टिकरणमा तिमीले चित्त बुझ्दो जवाफ दिएकी थियौं । यो स्पष्टिकरणमा पनि तिमीबाट चित्तबुझ्दो जवाफको अपेक्षा गरेको छु । 
निशा, 
मान्छेको बारेमा सोच्न, उसको व्यवहार चिन्न र मान्छेलाई बुझ्न मलाई बिरामी हुनुप¥यो । दैनिक कार्यालय आउजाउ गर्दा हामी धेरै मान्छेका बीचमा भएर पनि नितान्त एक्कै हुँदा रहेछौं । मैले त्यस्तै अनुभव गरँे । बिरामी परेर जुन दिनदेखि अस्पतालको बेडमा समय बिताइरहेको छु ,त्यो दिनदेखि मेरो परिवार लगभग २४ घण्टा नै मेरो साथमा छ । आफन्त के छ ?कस्तो छ ?भन्दै आउँछन् । सद्भाव देखाउँछन् । मोबाइल इन्बक्स, म्यासेन्जर, भाइबरमा ‘गेट वेल सुन’ले भनिएका छन् । यति हुँदा हुँदै पनि मलाई न्यास्रो लागिरहेको छ ।  कसलाई नभेटे जस्तो , कोसँग टाढा भए जस्तो , भेट्न बाँकी कोही छ जस्तो यस्तै यस्तै  । हो मलाई तिम्रो न्यास्रो लाग्यो निशा । हो, मलाई तिम्रो न्यास्रो लाग्यो ।  त्यसैले मैले तिमीलाई यो मेल पठाए  । यो मैले तिमीलाई अफिसमा सोधेको जस्तो स्पष्टिकरण होइन । तिमीले २४ घण्टाभित्र उत्तर पठाउनुपर्ने पनि छैन । चित्त बुझ्दो जवाफ नआए दोहो¥याएर सोध्ने धृष्टता पनि मबाट हुँदैन । तिमीले जस्तो जवाफ पठाएपनि त्यसलाई मैले प्रेमभावले स्वीकार गर्ने प्रयत्न गर्नेछु निशा । त्यो प्रत्यनमा म सफल भइन भने त्यसलाई मैले जीवनको ठूला असफलता मानेर स्वीकार गर्नेछु । निशा तिमीलाई मेरो न्यास्रो लागेन ???? मैले तिमीलाई यो प्रश्न सोधेर हामीबीचको सम्बन्धमा स्पष्टिकरण सोध्ने चेष्टा गरेँ । यो स्पष्टिकरणले तिमीलाई जीवनमा अप्ठ्यारो महसुश भए यो प्रश्नको जवाफ नदिनु ल ।
केदार सर 

प्रतिमा निशालाई एकहोरो हेरिरहेकी थिई । उसको ध्यान निशाले पढिरहेकी केदार सरका मेलमा मात्रै केन्द्रित थिइन । पटक पटक आफ्नो याटिट्यूट देखाउने हाकिमको अनुहार सम्झिरहेकी थिएँ । उसले आफ्नो हाकिम र निशाको हाकिमलाई तुलना गरी । केही बोलिन । त्यत्तिबेला अर्को राउण्ड क्यापिचिनो टेबुलमा आइपुगिसकेको थियो । लामो सुँस्केरा सहित निशाले  इमेलको रिप्लाई गरी —गेट वेल सुन सर । यो रिप्लाईसँगै मोबाइल इन्बक्समा केदार सरको म्यासेज आएको देखी निशाले । म्यासेजमा लेखिएको थियो — मेरो मेल पाउनुभयो ? यो बसाईमा प्रतिमाले आफ्नो कुरा सुनाउन भ्याइन् । झम्के साँझमा छिट्टै भेट्न वाचासहित उनीहरु छुट्टिए । 
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार