हुवावे वित्तीय व्यवस्थापक मेङ रिहा

शनिबार नै स्वदेश फिर्ता 
शनिबार, असोज ९, २०७८
मयुर प्लाई
Global Ime Bank

बेइजिङ । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ । मेङ र भूतपूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावर पक्राउ परेको तीन वर्षपछि स्वदेश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरूको सुरक्षा नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् । 
चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अरबपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरी मेङलाई क्यानाडामा गिरफ्तारीपछि तीन वर्षसम्म एउटा घरमा नजरबन्दमा राखिएकोमा वैंकूवरको अदालतको सुनवाइपछि शनिबार रिहा गरिएको हो । उनलाई संयुक्त राज्य अमेरिकाले सुपुर्दगी गर्न भनेपछि उनले आफूले कम्पनी र आफू रहेको मुलुकको कानून अनुसार नै व्यवसायिक गतिविधिमा रहेकोले आफू निशर्त चीन फर्कन पाउनुपर्ने दावी गर्दै अदालतमा मुद्दा लड्दै आएका थिए । 
अमेरिकी अभियोक्ताहरूले उनीविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः हटाइने सम्झौता गरेको बताएको केही घण्टापछि उनलाई रिहा गरिएको हो । मेङको रिहाइपछि उनी तुरुन्तै चीनको शेन्जेन शहर जाने उडानमा चढेका थिए । सन् २०१८ को डिसेम्बर १ मा अमेरिकी अधिकारीहरूको निर्देशनमा वैंकूवरको अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी गिरफ्तार भएदेखि पहिलो पटक चीन फर्किएका हुन् । 
यसैबीच, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको पक्राउको बदलामा पक्राउ परेका दुई क्यानेडियालीहरूले चिनियाँ हवाई आकाश काटिसकेका र घर फर्कंदै गरेको जानकारी गराएका छन् । ट्रुडोले ओटावामा भएको प्रेस सम्मेलनमा भने, ‘पत्याउनै नसकिने कठोर अनुभव’ उहाँहरूले सामना गर्नुप¥यो, उहाँहरूको विमान शनिबार क्यानाडामा अवतरण हुने आशा गरिएको छ ।”
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनीहरूलाई ‘दुई माइकल्स’ को संज्ञा दिएका थिए । ओटावाले जासुसी गरेको आरोपमा मेङलाई पक्राउ गरेको केही दिनपछि ती क्यानेडियाली नागरिकलाई चीनमा पक्राउ गरिएको थियो । बेइजिङले मेङको मुद्दालाई ‘एउटा विशुद्ध राजनैतिक घटना’ बताउँदै आएको थियो । 
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले उनीहरूको रिहाइपछि प्रतिक्रिया दिँदै भनेका छन्, “अमेरिकी सरकार यस निर्णयलाई स्वागत गर्न अन्तरराष्ट्रिय समुदायको पक्षमा उभिन्छ ।” चीन जानुअघि संवाददातासँग कुरा गर्दै मेङले भने, “विगत तीन वर्षमा मेरो जीवन उल्टो भएको छ । आमा, पत्नी वा मेरो कम्पनीको वित्तीय अधिकारीको हैसियतमा यो मेरो लागि तनावपूर्ण समय थियो ।” उनले पछि आफ्नो विमानबाट चिनियाँ सामाजिक सञ्जालमा ‘पार्टी र सरकारलाई धन्यवाद’ दिँदै सन्देश पोस्ट गरेका थिए । 
यसैबीच चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले शनिबार मेङलाई थुनामा राख्नु ‘एक चिनियाँ नागरिकविरुद्ध राजनैतिक बदलाको भावना’ भएको बताए । राज्य प्रसारक सिसिटिभीले चुनिङले मेङ वान्झाउ विरुद्ध लगाइएको ‘ठगी’ आरोप पूरै झुटो भएको उल्लेख गरेको छ । यस मुद्दाको समाधानले बेइजिङ, वासिङटन र ओटावाबीचको सम्बन्धमा देखिएको तनाव हट्ने विश्वास गरिएको छ ।  चीनले अमेरिकालाई आफ्नो एउटा प्रविधिको ‘टाइटन’माथि राजनीतिक आक्रमण गरेको आरोप लगाउँदै आएको छ भने अमेरिकाले हुवावेमाथि प्रबिधिमार्फत् ठगी गरेको बताउने गरेको छ ।–एएफपी  
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार