सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको तालिबानको विश्लेषण छ । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने तालीबानको चेतावनी छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ । गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ । दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख छ । ‘कसैसँग पनि गुनासो गर्ने अधिकार छैन’ सूचनामा उल्लेख छ । ‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन’ काबुलस्थित एकजना नाऊले भने । सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाऊले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए । उनीहरूले ती नाऊलाई ‘अमेरिकी शैली पच्छाउन बन्द गर्न’ भने र कसैको पनि कपाल मिलाउने वा काट्ने कार्य नगर्ने भने । केही दिनअघि मात्रै तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका थिए । हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय ‘सुरक्षाका लागि आवश्यक’ भएको एपीलाई बताएका हुन् । तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए ।–बीबीसी