सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताउँदै गठबन्धन सरकार आफू अनुकल कानुनको व्याख्या गर्न तल्लिन भएको आरोप लगाएका छन् । मध्यरातमा संसद् अधिवेशन अन्त्य गर्ने, बिहानै अध्यादेश जारी गरेर परमादेश सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार ढंगले अघि बढेको अध्यक्ष ओलीले आरोप लगाए ।काठमाडौंमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए । संसद् चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ । ओलीले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’उनले थपे, ‘पहिलेको ऐन(कायम रद्द हुनेगरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’ ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको बताए ।
'एमसीसीबारे नाइके मौन'
अध्यक्ष ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् । ‘गठबन्धनका नाइके सरकारमा छन्’, ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर’ छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’ ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’
सरकारलाई खबरदारी पुगेन अर्काे प्रशंगमा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे । ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो । ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’ त्यसपछि उनले थपे, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’
कालो धनलाई सेतो बनाउन नदिने
अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउनेसमेत दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यो व्यवस्था गरेको भन्दै आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउन नदिने बताए । ‘कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भएपनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा हो’, उनले भने, ‘यसले नेपालमा बिपत्ति ल्याउँछ ।’