पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति

बुधबार, असोज १३, २०७८
मयुर प्लाई
Global Ime Bank

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको हालसम्मको कार्य प्रगतिका बारेमा निरीक्षण गरी जानकारी लिएका हुन् । सो अवसरमा पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्म आयोजनाको ८४ प्रतिशत काम सकिएको जानकारी दिए ।
गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको उनले बताए । आयोजना प्रमुख मुनकर्मीका अनुसार आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने बताए ।  विमानस्थलको दुई हजार ५०० मिटर लामो रनवे गत वर्षनै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको छ । यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । रिठ्ठेपानी डाँडा कटान, ल्याडफिल साइट र आयल निगमको डिपो निर्माणलगायतका काममा ढिलाइ भएकाले मुख्यमन्त्री पोखरेलसँग आवश्यक सहयोग र समन्वयका लागि आयोजना प्रमुख मुनकर्मीले आग्रह गरे । उनले भने, “एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपोको काम ठोसरूपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ ।” मुख्यमन्त्री पोखरलले थप भएको समयभित्रमा विमानस्थलको काम सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।-रासस
विमानस्थलको निर्माणमा अहिले देखिएका समस्या समाधानका लागि सङ्घीय सरकारसँग समेत समन्वय गरिने उनले भने । उनले भने, “विमानस्थल हाम्रो गौरवको आयोजना हो । निर्धारित समयभित्रै सम्पन्न गर्न निर्माण कार्यमा आइपरेका व्यवधान हटाउन प्रदेश सरकारले पहल गर्नेछ ।” 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा लुम्बिनीको निरीक्षण

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको एक टोलीले आज लुम्बिनीको स्थलगत निरीक्षण गरेको छ । समितिले भ्रमणपश्चात् लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न सरकारलाई सुझाव दिएको छ । समितिका सदस्यहरु दिव्यमणि राजभण्डारी, मोहन बानियाँ, नारदमुनि राना, रेनुका गुरुङ, सरला यादव, पुष्पाकर्ण कायस्थ र समितिका सचिव सुरज दुराले लुम्बिनीको स्थलगत अवलोकन गरेका हुन् । अध्ययनपश्चात् कोषको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्यले भने, “लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न सकिन्छ, यसमा समितिले सरकारको ध्यानाकर्षण गर्न जरुरी छ ।”
उपाध्यक्ष मेत्त्ययले शान्ति केन्द्रका लागि लुम्बिनी विकास कोषले भवनको व्यवस्थापन गर्न सघाउने बताए । सो अवसरमा उहाँले विहार एवं मन्दिरमा आउने भिक्षुको भिसा थपमा सहजीकरण गरिदिन पनि समिति समक्ष आग्रह गरे ।  लुम्बिनीमा रहेका विभिन्न देशका विहार तथा मन्दिरमा आउने भिक्षु भिक्षुणीको भिसाको समयावधि थप्दा विकास कोषबाट संस्कृति तथा पर्यटन एवं नागरिक मन्त्रालयहुँदै गृह र परराष्ट्रमा पठाउने लामो प्रक्रिया छ । उक्त प्रक्रियाको कारण धेरै भिक्षु भिक्षुणी समस्यामा परेका छन् । लुम्बिनी विकास कोषका लागि समितिकोतर्फबाट आवश्यक सहयोग गर्ने सांसद राजभण्डारीले बताए । यस्तै सांसद रानाले समितिले काठमाडौँ फर्केपछि सुझावसहित प्रतिवेदन सरकारलाई बुझाउने बताए । सांसदहरुलाई विकास कोषका योजना प्रमुख सरोज भट्टाराई, सूचना अधिकृत राजन बस्नेतलगायतले लुम्बिनीको गुरुयोजना तथा पुरातात्विक एवं सांस्कृतिक महत्वका बारेमा जानकारी गराएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार