सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । नेपालीहरूको मुख्य चाड दशैँ नजिकिँदै गएको छ । दशैँका लागि भनेर जिल्लामा उत्पादित खसी(बोकाको मासुले भने ५० प्रतिशत मात्र माग धान्ने देखिएको छ । यहाँ उत्पादन भएका राम्रा र सर्लक्क हुर्किएका खसी बोका काठमाडौं, पोखरालगायतका शहरमा जाने भएकाले यहाँका व्यापारीले बाहिरी जिल्लाबाट खसी(बोका ल्याउने गरेका छन् ।
जिल्लाका पहाडी भेग चण्डीभन्ज्याङ, शक्तिखोर, कोराकलगायतका स्थानबाट व्यवसायीले खसी बोका ल्याउने गर्छन् । जिल्लाको उत्पादनले ५० प्रतिशत मात्र माग धान्ने खसी(बोका मासु व्यवसायी संघ चितवनका महासचिव गणेश कँडेल बताउँछन् ।
बाँकी ५० प्रतिशत खसी बोका नवलपरासी, धादिङ, गोर्खालगायतका जिल्लाबाट ल्याउनुपर्ने उनले बताए । भारतबाट खसी(बोका ल्याउन रोक लगाइएको छ । भारतीय खसी–बोकामा लागेका रोगहरू नेपालमा समेत फैलिने डरका कारण भारतीय खसी(बोका ल्याउन रोक लगाइएको हो । तर पनि लुकिछिपी भारतबाट ल्याउने गरिएको छ ।
जिल्लामा यस पटकको दशैँमा दैनिक एक हजारवटा खसी(बोका अर्थात् १५ हजार किलोसम्म मासु खपत हुने संघको अनुमान छ । अहिले सोह्रश्राद्ध जारी रहेका बेला पनि जिल्लामा दैनिक चार हजार ५०० किलो मासु बिक्री भइरहेको संघका महासचिव कँडेल बताउँछन् ।
‘घटस्थापनादेखि दशैँको दिनसम्म जिल्लामा दैनिक १५ हजार किलो मासु खपत हुने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘दशैँका लागि व्यवसायीहरुले खसीबोका खरिद गर्ने तयारीमा छन् ।’ सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा दशैँका लागि खसी(बोका झार्ने काम सुरु हुने उनले बताए ।
मासुको मूल्य नबढ्ने
दशैँको मुखमा खाद्यान्नहरूको मूल्य बढ्दै गर्दा खसी(बोकाको मासुको मूल्य भने नबढ्ने भएको छ । कोरोना महामारीका कारण उपभोक्ता पनि आर्थिक मारमा परेकाले खसी(बोका मासु व्यवसायी संघ चितवनले यस पटकको दशैँमा मासुको मूल्य नबढाउने निर्णय गरेको हो ।
खसी(बोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिमिल्सिनाले खसी(बोकाको मासुको मूल्य नयाँ निर्धारण नभएकाले पुरानैलाई निरन्तरता दिइने बताए । मूल्य निर्धारणका लागि किसानका समूहले व्यवसायीहरूलाई बोलाएका थिए । संघले मूल्य निर्धारण गरे पनि किसानले काठमाडौं र पोखराका व्यापारीलाई महँगोमा बिक्री गर्ने भएकाले संघले मूल्य निर्धारण नगरेको उनले बताए ।
काठमाडौंका व्यापारीले किसानलाई खसी(बोकाको मूल्यमा प्रतिकिलो १०० रुपैयाँसम्म बढी दिने गर्छन् । बढी मूल्य पाउने भएपछि किसानले राम्रोसँग हुर्किएका खसी(बोका छानीछानी बिक्री गर्छन् । छानेर बाँकी रहेका खसी(बोका यहाँका व्यापारीले किन्नुपर्ने भएकाले पनि मूल्य निर्धारणमा संघ नगएको उनी बताउँछन् ।
बजारमा अहिले खसी(बोकाको मासु बोसोरहित प्रतिकिलो एक हजार २०० र बोसोसहित प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको छ । पछिल्लो एक वर्षदेखि मासुको मूल्य नबढेको उनी बताउँछन् । महामारीले उपभोक्तालाई पारेको प्रभावलाई मध्यनजर गर्दै बजार भाउभन्दा १०० रुपैयाँ सस्तोमा मासु बिक्री गरिरहेको उनले बताए ।
‘महामारीले हामीलाई जस्तै उपभोक्तालाई पनि असर गरेको छ । त्यही सोचेर मैले गएको १ वैशाखदेखि नै बजार भाउभन्दा १०० रुपैयाँ सस्तोमा मासु बेचिरहेको छु’, उनले भने, ‘यसपालिको दशैँमा ज्युँदो खसी(बोकाको मूल्य बढे पनि मासुको मूल्य बढ्दैन । मूल्य नबढाउन संघका सदस्यहरूलाई पनि भनेका छौँ ।’
खसी(बोका मासु व्यवसायी संघ चितवनमा १०० भन्दा बढी व्यवसायी आबद्ध छन् । संघबाहिर करिब २०० व्यवसायी रहेको अनुमान छ ।