सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

आइतबार, असोज १७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हजार ५७ दमलव ४९ विन्दुमा पुगेको छ । नेप्से दुई दशमलव १२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ०७ अंकले घटेर चार सय ८५ दशमलव ९८ विन्दुमा झरेको छ । नेप्सेका अनुसार कुल दुई सय ३२ वटा कम्पनीको ८९ लाख ४८ हजार नौ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ११ करोड ३८ लाख १४ हजार दुई सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सर्वाधिक कारोबार गर्नेमा अपि पावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ६ लाख १६ हजार दुई सय २१ दशमलव ९० रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

बजारमा देखिएको आर्थिक तरलता र सेयर कर्जामा लागेको सीमा पुनरावलोकन नभएसम्म बजारमा रौनक नआउने लगानीकर्ता बताउँछन् । यस्तै, दसैँतिहारमा रेमिटेन्स भित्रिने क्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ । यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरू भइरहेका छन् । अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरू बताउँछन् । 

सेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । त्यसैले, लगानीकर्तालाई निराश नभई घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी भएको सेयर बजार विश्लेषकहरूले आग्रह गरेका छन् । 

आइतबार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सुचांक राताम्मे भएको छ । आइतबार सबैभन्दा धेरै फाइनान्स समूहका उपसुचांकहरु रहेका छन् । फाइनान्स समूहको सुचांक चार दशमलव ३३ प्रतिशतले ओरालो लागेको छ । बाँकी सबै समूहको सुचांकमा एकदेखि तीन प्रतिशतसम्मको गिरावट आएको छ । 

आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय २५ रुपैयाँ ४० पैसा पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार