गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

सोमबार, असोज १८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन सुरु गरेको छ ।
चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिए ।
उनका अनुसार चाडपर्व सुरु भएसँगै दैनिक छ समूहबाट बजार अनुगमन भइरहेको छ । “हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौँ । चाडपर्व सुरु हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक छ समूहलाई बजारमा पठाउने गरेका छौँ”, उनले भने, “अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौँ ।” उनले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । 
“उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौँ । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ”, उनले भने । 

मूल्य वृद्धि

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी सङ्घको तथ्याङ्कअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो ।
पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाए । 
उनलेसरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्याङ्कअनुसार पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताए ।    
चाडपर्व सुरु भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधबार सरकारले पौडेलको सरुवा गरेपनि उहाँको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । बुधबार सरुवाको निर्णय भएपनि आइतबारसम्म पौडेल विभागमा नै रहेका छन् । 

चार पसललाई जरिवाना
चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने रु २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ ।  
पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार वटा किराना पसललाई रु पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए ।  
उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए ।  घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ । 
“कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो”, उनले भने, “तर मूल्यमा भने खासै अन्तर देखिएन ।” बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।  मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गरे । 
उनका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रु ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।  “बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ”, उनले भने,“अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।”
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २१:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार