सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा :
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्री सुरु गरेको पहिलो दिन भीड लागेको छ । लामो समयदेखि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा साबिकको भन्दा सहुलियत दरमा खाद्यान्न बिक्री हुन थालेपछि स्थानीयको लाइन लागेको हो ।
सहुलियत दरमा चामल बिक्री सुरु भएको आज पहिलो दिन १२० क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीका प्रमुख नवीन आचार्यले बताए ।
उनले अहिले मौजात चामलले उपभोक्ताको भीड थेग्न सक्ने अवस्था नरहेको बताए ।
कोल्टी डिपोबाट आजदेखि प्रतिकिलो पाँच रुपैयाँ छुट गरेर चामल बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा प्रमुख मेघराज ओझाले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले अरुवा मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर ४० रुपैयाँ र कोल्टी डिपोबाट प्रतिकिलो ४८ रुपैयाँमा पाँच रुपैयाँ छुट दिएर प्रतिकिलो ४३ रुपैयाँमा बिक्री गरिएको हो ।
जिल्लाका मार्तडी र कोल्टीमा चामल बिक्री वितरण भए पनि कवाडी डिपोबाट भने बिक्री सुरु नभएको बताइएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा ३०५ क्विन्टल र कोल्टी डिपोमा ४०० क्विन्टल चामल ढुवानी भएको जनाइएको छ ।