चालक अनुमतिपत्रका लागि सङ्घ र प्रदेशको फरक फरक नियम

मंगलबार, असोज १९, २०७८

काठमाडौँ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ ।  सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीरकणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०÷१० वर्षमा नवीरकरण गर्ने व्यवस्था छ । यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था सङ्घीय ऐनमा छ ।  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सोझै अनुमतिपत्र दिन मानेका छैनन् । प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेपछि मात्रै अनुमतिपत्र दिन सकिने कार्यालयले जनाउँदै आएका छन् । 
चालक अनुमतिपत्र नेपालीकरण, परीक्षा प्रणाली र नवीकरण उदाहरण मात्रै हुन ।  नयाँ संविधान जारी भएपछि यातायात क्षेत्र खासगरी चालक अनुमतिपत्रमा सङ्घ र प्रदेशबीच कार्यक्षेत्रमा अन्यौलता देखिएको छ । सङ्घले एकाथरी निर्णय गर्दा वा सङ्घीय ऐनमा एकाथरीको व्यवस्था हुँदा प्रदेशले अर्कै किसिमको ऐन बनाएको छ । यातायात प्रदेश सरकारको एकल अधिकार जनाउँदै सङ्घीय सरकारको ऐन, कानून, निर्णय नमान्ने गरेको पाइएको छ । 
अनुमतिपत्रमा देखिएका समस्या प्रदेश सरकार आफैँ पनि समाधान नगर्ने र सङ्घीय सरकारको निर्णय पनि नमान्दा समस्या आइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । अहिले अनुमतिपत्र छपाइ र सफ्टवेयर बाहेक बाँकी सबै जिम्मेवारी प्रदेश सरकारको हो । सफ्टवेयरमा समस्या आउदा सुधारका लागि विभाग तयार रहेको उहाँले जानकारी दिए । उनले भने, “प्रदेश आफैँले निर्णय नगरेसम्म हामीले सच्याउन सक्दैनौँ ।”
सङ्घीय ऐनसँग प्रदेश ऐन बाँझिएकाले पनि पटकपटक समस्या आइरहेको छ । सङ्घीय सरकारले संविधानअनुसार ऐन बनाउन बाँकी छ भने कतिपय प्रदेशले ऐन बनाएर लागू गरिकसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विधेयक छलफलका क्रममा रहेको छ । प्रदेशले बनाएको कानून बाझिँदा कसरी कार्यान्वयन गर्ने भनी समस्या देखिन थालेको उनले बताए । 
प्रदेशले एकल अधिकारको सूचीमा भएकाले सङ्घीय कानूनको बेवास्ता गरेर ऐन बनाए पनि कार्यान्वयन सजिलो नभएको उनले जानकारी दिए । 
उनले भने, “यातायातका धेरै विषय अन्तर प्रदेश जोडिने भएकाले कार्यान्वयन सजिलो छैन ।” कानूनकै विषयमा कतिपय अस्पष्टता रहेको र कतिपय विषय कार्यान्वयन सजिलो नभएको महानिर्देशक घिमिरेले बताए । 
प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारणको जिम्मेवारी प्रदेश सरकारको हो भने अन्तर प्रदेश चल्ने सवारीसाधनमा भाडादर निर्धारणको जिम्मेवारी सङ्घीय सरकारको हो । कतिपय प्रदेशबीचको दूरी १५ मिनेट मात्रै भएको र प्रदेश प्रदेशबीच फरक–फरक भाडादर कायम हुँदा कार्यान्वयन अप्ठेरो हुनसक्ने उनले बताए । उनले भने, “नयाँ बन्ने सङ्घीय ऐनमा पनि यी कुरा समेट्न खाँचो छ ।”लामो समयदेखि अनुमतिपत्र नेपालीकरण रोकिएकाले सेवाग्राही हैरान छन् ।
पहिले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले नेपालीकरण गर्दा कतिपय कागजात नक्कली भएकाले कर्मचारी कारवाहीमा परेका थिए । त्यसयता अरु यातायात कार्यालयले पनि नेपालीकरण गर्न मानेका छैनन् । गलत काम गर्ने व्यक्ति कारवाहीमा परेपनि ऐनमा भएको व्यवस्था नै कार्यान्वयन गर्दिन भन्न नमिल्ने महानिर्देशक घिमिरेले बताए । उनले भने, “दूतावासबाट सिफारिस ल्याउनु भन्न सकिएला तर कार्यान्वयन नै गर्दिन भन्न मिल्दैन ।”
सङ्घीयताको कार्यान्वयनसँगै यातायात क्षेत्रमा अधिकार क्षेत्रको विवाद देखिन थालेको हो । पहिले सङ्घीय सरकारअन्तर्गत रहेका कार्यालय प्रदेशअन्तर्गत हस्तान्तरण भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । कानून निर्माणदेखि कार्यान्वनसम्ममा दुवै सरकारबीच समन्वय आवश्यक भए पनि आ–आफ्नो तरिकाले चल्दा यसका मारमा सेवाग्राही परिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार