सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल :
रूपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल घोषणा गरिएको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका एमाले निकट पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट उद्योगीहरूले साझा प्यानल तयार गरेका हुन् ।
संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेलाई सहमति गरिएको छ । सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिव हुन् ।
त्यसैगरी संघको महासचिवमा हालका कोषाध्यक्ष हरिबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हीरामणि भटराईलाई साझा उम्मेदवार बनाइएको छ । त्यसैगरी संघको सचिवमा वसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई उम्मेदवार बनाइएको छ । त्यसैगरी सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ ।
यसका साथै एसोसिएटतर्फ सुमन बस्याल र तुलसी गुरुङ, आजीवन सदस्यतर्फ माधव नेपाल, संंस्थागत सदस्यतर्फ अशोक कुँवर, महिला सदस्यतर्फ शारदा भट्टराई र मीना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली रहेका छन् ।
खुलातर्फका सदस्यहरूमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल रहेका छन् । बुटवल उपमहानगरपालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे, शुद्धोधन गाउँपालिकाबाट रमेश खनाललाई प्रस्ताव गरिएको छ ।
रूपन्देही उद्योग संघको ४३औँ साधारणसभा तथा २२औँ अधिवेशन यही २३ असोजमा हुँदै छ । संघको आगामी नेतृत्व साझा बनाउनका लागि पहल गर्न पूर्वअध्यक्ष एजाज आलम, बोनिन पिया र निवर्तमान अध्यक्ष गणेश अधिकारीलाई जिम्मेवारी दिइएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए । साझा उम्मेदवारका रूपमा प्रस्तावित पौडेलले आफूले सबै उद्योगी, व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने बताए ।