सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्ने बताएका छन् ।
स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उनले त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहने बताए । उनले समग्रमा समुदायलाई उत्पादनसँग जोड्न आवश्यक रहेकाले समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्ने बताएका छन् ।
‘सरकार, समुदाय र निजी क्षेत्र यी तीनवटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो’, उनले भने, ‘समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ । यसरी हामी जान सक्यौँ भने छोटो समयमा समृद्धि हासिल गर्न सकिन्छ ।’
उनले अहिले समुदाय केन्द्रित भएर समग्र राष्ट्रको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हिजो जसरी सहकार्यमार्फत सामुदायिक स्तरबाट ठूला निर्माण भएका थिए, त्यसरी नै आज सहकारीमार्फत ठूला योजनाहरू गर्न सक्छौँ । हिजोको प्राचीन अभ्यास संगठनका रूपमा आज सहकारी रहेको छ’, उनले भने ।
सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेको उनले बताए । सहकारीमा सबै क्षेत्र, जाति, लिंग, वर्गको सहभागिता रहेको उनको भनाइ छ । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए ।
उनले सहकारीहरूले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्यांकबाट देखिएको भन्दै अब त्यो लगानी उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने औँल्याए ।
उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति भएर मुलुकको परनिर्भरता घट्ने अर्थमन्त्री शर्माको दाबी थियो ।
सहकारीहरूले कम्पनी खोलेर पुँजी लगानी गर्न पाउने नीति पारित भएको अर्थमन्त्री शर्माले जानकारी दिए । उनले अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउने र यसका लागि कार्यविधि तयार भइरहेको बताए ।
‘यसबाट अर्बौं रुपैयाँ उत्पादन क्षेत्रमा लगानी हुनेछ । यसले हाम्रो आर्थिक क्षेत्रमा धेरै ठूलो परिणाम ल्याउनेछ’, उनले भने, ‘सरकारको पुँजीगत खर्चको थोरै हिस्सा मात्र लगानी भइरहेको अवस्थामा यो व्यवस्था राष्ट्रिय अर्थतन्त्र निर्माणमा एक खम्बाको रूपमा रहनेछ ।’
यसका साथै हरेक व्यक्तिको खल्तीमा रहेको धेरै थोरै पैसालाई केन्द्रीकृत गरी लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
'अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेको छ । ती सहकारीको नियमन गर्न आवश्यक छ', उनले भने ।