पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग 

सहयोग रकम अक्सिजन प्लान्ट स्थापनाका लागि खर्च गरिने 
मंगलबार, माघ ६, २०७७

ललितपुर : ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड रुपैयाँ प्रदान गरेको छ । 
ललितपुर महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा ललितपुर महानगर प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँदै उनले भने, ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण पाटन अस्पतालले राम्रो सेवा पु¥याउने राम्रो अस्पताल छ भनेर नै हो ।’ 


नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रुपमा सहकार्य गर्न आत्तुर भएको धारणा राखे । उनले भने, ‘यो सहकार्यको प्रस्थान विन्दु हो, यो श्रीगणेशायनम हो ।’
पाटन अस्पताल ललितपुरवासीको मात्रै अस्पताल नभएको बताउँदै प्रमुख महर्जनले ७७ वटै जिल्लाका सर्वसाधारणा यहाँ उपचार गर्न आउने उल्लेख गरे । 
महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । 
कार्यक्रममा अस्पतालका निर्देशक डा.रवि शाक्यले पाटन अस्पतालले गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै हौसला मिलेको बताए । उनले यसलाई महानगरपालिकाले गरेको सहयोग नभनि उपहार भन्न अनुरोध गरे । उनले भने, ‘उपहार भनेको सानो ठूलो हुँदैन, त्यहाँ मूल्यको कुरा हुँदैन, त्यसको अलगै अर्थ हुन्छ । राम्रो काम गरेर स्यावासी पाएको रुपमा लिएको छु ।’ यो स्वास्थ्य क्षेत्र र स्थानीय तहबीच गर्न सकिने सहकार्यको राम्रो उदाहरण भएको उनको धारणा थियो । यसको अनुकरण अन्यत्र पनि हुनुपर्ने धारणा व्यक्त गरे । 


पाटन अस्पताल सिमिति स्रोत साधानमा चलेको बताउँदै कोभिडका संक्रमित धेरै आएका बेला दश वर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको बताए । उनले भने, ‘दिनमा तीनसयवटा अक्सिजन सिलिण्डर खपत हुने गरेको बताउँदै मासिक तीस लाखसम्मको अक्सिजन सिलिण्डर खरिद गरेका थियौं, अहिले पनि खरिद गररे नै चलाइरहेका छौं’, निर्देशक शाक्यले भने । असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने शाक्यले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास सिमितका संयोजक तथा वडा नं २४ का वडा अध्यक्ष दिनेश कार्कीले पाटन अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारमा प्रसंसनीय काम गरेको भन्दै अस्पताललाई धन्वयवाद दिए ।  उनले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले पाटनलाई ललितपुर महानगरले सहयोग गरेको स्पष्ट पारे । 
अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भूजेल, लिलाराज आचार्यको उपस्थिति थियो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला, २९ वटै वडाका वडाध्यक्षहरु, महाशाखाप्रमुख, सल्लाहकारहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार